पौष १५, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले अबको चार वर्षमा निजगढसम्म जसरी पनि नै रेल चलाउने बताएका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीको घोषणाअनुसार ४ वर्षसम्म योजनाअनुसार भारतबाट निजगढसम्म रेल सेवा चलाउने बताए ।
हालै ब्रोडगेजमा स्तरोन्नति भएको जनकपुर-जयनगर रेलमार्गमा रेल चलाउने योजना बनिहरेका बेला महासेठले चार वर्षभित्रै निजगढसम्म सो रेल ल्याउने बताए । जनकपुर-जयनगर रेलमार्गलाई तत्कालै बिजलपुरासम्म विस्तार गर्ने योजना सरकारको छ ।
त्यो रेलमार्गलाई हाल निर्माणाधीन लालबन्दी-निजगढ रेलमार्गमा जोड्ने योजनामा सरकारको योजना छ । त्यसपछि निजगढसम्म रेलगाडी चलाने योजना मन्त्रालयको छ ।
हाल जनकपुर-जयनगर रेलमार्गमा चल्ने रेलगाडी किन्न सरकारले प्रक्रिया अघि बढाएको छ । भारत सरकारसँग किन्न लागिएका रेलगाडी कति मूल्यमा किन्ने भन्ने निर्णय आगामी जनवरी १०मा हुने मन्त्री महासेठले बताए ।
‘भारतले अहिले नयाँ रेलगाडी डेलिभर गर्न ४ महिना लाग्छ भनेको छ । हामीले एक महिनाभित्रै दिनुस् भनेका छौं,’ उनले भने,’सकेसम्म छिटो नेपालको आफ्नै रेलगाडी चलाउँछौं ।’
नयाँ रेलगाडी किन्न सरकारले सैद्दान्तिक स्वीकति पनि दिइसकेको भन्दै मन्त्री महासेठले बजेटको अभाव नहुने बताए ।
एउटा गाडीका लागि सरकारले ४० करोड रुपैयाँ छुट्याएको छ । सरकारले दुई वटा रेलगाडी किन्न खोजेको छ । पहिलो रेलगाडी आएको २ महिनाभित्र अर्को पनि रेलगाडी आएर नेपालको आफ्नै झण्डा र लोगो भएको रेलगाडी गुड्ने मन्त्री महासेठले बताए ।
उनले ४ वर्षभित्र हुलाकी राजमार्ग, मध्यपहाडी लोकमार्ग, र मदभण्डारी राजमार्गको निर्माण गरिसक्ने दावी पनि गरे ।
उनले कामको गति बढाइएको भन्दै अबको ४ वर्षमा काम सक्ने गरी बजेट अभाव हुन नदिन अर्थमन्त्रालयसँग पनि छलफल भइरहेको बताए ।