ताजा परिणाम अपडेट: कांग्रेस ४६, एमाले ३१, माओवादी १२ अग्रस्थानमा

मंसिर ६,काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनको पछिल्लो मतपरिणाम अनुसार नेपाली कांग्रेस दुई स्थानमा विजयी भएको छ भने नेकपा (एमाले)ले एक स्थानमा जित हासिल गरेको छ ।

कांग्रेसले हिमाल पारिका जिल्ला मुस्ताङ र मनाङबाट जितको सुरुवात गरेको छ भने एमालेले ललितपुर क्षेत्र नं २ मा जित हासिल गर्दै खाता खोलेको छ ।

मुस्ताङको प्रतिनिधिसभा सदस्यमा कांग्रेसका योगेश गौचन थकाली विजयी भएका छन् । नेपाल विद्यार्थी संघमा आबद्ध भइ राजनीति सुरु गरेका २९ वर्षे उनी पर्यटन व्यवसायीसमेत हुन् । उनी बुबा पूर्वमन्त्री रोमी गौचनले पाएको टिकटबाट प्रतिस्पर्धामा उत्रिएका थिए ।

साथै, कांग्रेसले मनाङमा पनि जित हासिल गरेको छ । मनाङमा कांग्रेसका टेकबहादुर गुरुङ विजयी भएका छन् । कांग्रेस केन्द्रीय सदस्य गुरुङ पूर्वराज्यमन्त्री हुन् ।

नेकपा एमालेले भने ललितपुरबाट जितको खाता खोलेको छ । ललितपुर क्षेत्र नं २ मा एमालेका प्रेमबहादुर महर्जन विजयी भएका हुन् । उनले १५ हजार २५ मत प्राप्त गरे ।

निर्वाचन आयोग र कान्तिपुरका संवाददाताका अनुसार सोमबार मध्यरातिसम्म नेपाली कांग्रेस ४६ वटा स्थानमा अग्रता कायम गरेको छ भने नेकपा (एमाले) ३१ स्थानमा अग्रस्थानमा छ । साथै, नेकपा (माओवादी केन्द्र) १२ स्थानमा, राष्ट्रिय स्वतन्त्र पार्टी ९ स्थानमा, नेकपा (एकीकृत समाजवादी) ७ स्थानमा, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायत अन्य ६ स्थानमा अग्रता कायम गरेका छन् ।

प्रदेशसभा

मुस्ताङको दुवै प्रदेशसभामा कांग्रेस विजयी भएको छ । प्रदेशसभा १ मा नम्डू गुरुङ र प्रदेशसभा २ मा विकल शेरचन विजयी भएका हुन् ।

मनाङको प्रदेशसभा १ मा कांग्रेसका मुनिन्द्रजङ गुरुङ निर्वाचित भएका छन् भने प्रदेशसभा २ मा यसअघि नै स्वतन्त्र उम्मेदवार राजीव गुरुङ (दीपक मनाङे) निर्विरोध भइसकेका छन् ।

निर्वाचन आयोगका अनुसार हालसम्म प्रदेशसभामा कांग्रेस ३७ स्थानमा, एमाले ४७ स्थानमा अग्रस्थानमा छन् । साथै राप्रपा ९, नेकपा (एकीकृत समाजवादी) ९ स्थानमा अग्रता कायम गरेका छन् ।

संम्बन्धित समचार

Leave a Reply