पौष १६, हेटौंडा । प्रदेश नं। ३ का मुख्यमन्त्री डोरमणि पौडेलले राष्ट्र स्वतन्त्रताको सुरक्षा गर्न एवम् गणतन्त्रलाई सुढृढीकरण गर्न राष्ट्रिय मेलमिलाप सार्थक भएको बताएका छन् ।
नेपाली काङ्ग्रेस मकवानपुरद्वारा ४९ औं राष्ट्रिय मेलमिलाप दिवसको उपलक्ष्यमा सोमबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रदेश सरकारले प्रतिपक्ष दल काङ्ग्रेससँग सहकार्य गरेर अगाडि बढ्न तयार रहेको उल्लेख गरे । उनले जनतालाई आर्थिक समृद्धितर्फ आत्मनिर्भर तुल्याउन सहकार्य आवश्यक रहेकामा जोड दिए।
सो अवसरमा प्रदेशसभाका प्रतिपक्ष दलका नेता इन्द्रबहादुर बानियाँले मुलुकमा केही समूह विखण्डनका लागि तयार रहेका उल्लेख गर्दैै विपीले प्रतिपादन गर्नुभएको राष्ट्रिय मेलमिलापबाट राष्ट्रको सार्वभौमको रक्षा र प्रजातन्त्रको सुढृढीकरणका लागि सबै दल एकजुट हुनुपर्ने धारणा व्यक्त गरे ।
उक्त कार्यक्रममा विभिन्न सरकारी कार्यालयका कार्यलय प्रमुख, मकवानपुरका प्रजिअ आस्मान तामाङ, प्रहरी उपरीक्षक बुद्धिबहादुर गुरुङ, विभिन्न दलका प्रतिनिधि, सञ्चारकर्मीलगायत सहभागी थिए ।
यसैबीच आजै सोही अवसरमा आयोजित एक अर्को कार्यक्रममा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य गुरुप्रसाद घिमिरेले जननायक विपी कोइरालाले प्रतिपादन गर्नुभएको राष्ट्रिय मेलमिलापले बाट मुलुकमा प्रजातन्त्रको पुनःस्थापना र राष्ट्रियतालाई सबल बनाउन सक्षम भएको बताभएका छन् । रासस