‘विजयबाबु स्मृति पत्रकारिता पुरस्कार २०७९’ दिपा दाहाललाई प्रदान गर्ने निर्णय

काठमाडौं,यस वर्षको ‘विजयबाबु स्मृति पत्रकारिता पुरस्कार’ पत्रकार दिपा दाहाललाई प्रदान गरिने भएको छ । विजयबाबु खत्रीको एघारौं स्मृति दिवसको अवसरमा सोमबार आयोजित कार्यक्रममा नेपाल समाचार केन्द्र प्रालिकी अध्यक्ष लक्ष्मी श्रेष्ठ खत्रीले पत्रकार दाहाललाई पुरस्कृत गर्ने निर्णय भएको जानकारी दिइन् ।

पत्रकार दाहालले २०६२ सालमा सुर्खेतको रेडियो भेरीबाट पत्रकारिता सुरू गरेकी हुन् । त्यसयता रेडियो कान्तिपुर, अन्नपूर्ण पोष्ट, देशसञ्चार अनलाइन, कान्तिपुर टीभी काम गरेकी उनी हाल उकालो डटकममा वरिष्ठ संवाददाताको रूपमा कार्यरत छन् । आमसञ्चार र पत्रकारिता विषयमा स्नातकोत्तर गरेकी उनी विभिन्न पुरस्कारबाट पुरस्कृत छन् ।

पुरस्कार छनोटका लागि नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेल, नेपाल समाचार केन्द्र प्रालिका अध्यक्ष खत्री र नेपाल समाचार केन्द्रद्वारा सञ्चालित न्युजकारोबार डटकमका प्रधान सम्पादक सन्तोष आचार्य सहितको समिति गठन भएको थियो । सोही समितिले पत्रकार दाहाललाई यस वर्षको विजयबाबु स्मृति पत्रकारिता पुरस्कार दिने निर्णय गरेको हो ।

पत्रकारितामा सक्रिय रहँदारहँदै २०६८ साल मंसिर १२ गते रुपन्देहीको सालझन्डीमा भएको सडक दुर्घटनामा परी ३४ वर्षको उमेरमा विजयबाबु खत्रीको निधन भएको थियो । स्वर्गीय खत्रीको स्मृतिमा उनकी धर्मपत्नी लक्ष्मी श्रेष्ठ खत्रीले २०७५ मंसिर १२ गते अक्षय कोष स्थापना गरेकी हुन् । सोही अक्षय कोषमार्फत केन्द्रले हरेक वर्ष पुरस्कार प्रदान गर्दै आएको छ । न्युजकारोबार डटकमको छैटौं वार्षिकोत्सवको अवसरमा यही मंसिर २४ गते पुरस्कार प्रदान गरिने छ । पुरस्कारको राशि ३४ हजार रुपैयाँ छ ।

विजयबाबु पत्रकारिता पुरस्कारबाट पहिलो वर्ष ध्रुवहरि अधिकारी, दोस्रो वर्ष स्वर्गीय गोकर्ण गौतम र गत वर्ष केशव पौडेल पुरस्कृत भएका थिए ।

संम्बन्धित समचार

Leave a Reply