त्रिशुलीको प्राकृतिक वहाब रोक्न खोजिएको भन्दै उत्तरगयाबासी आक्रोशित

  • अनलाइन केन्द्र
  • / समाचार /
  • २०७५ पौष १६, सोमबार (६ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

पौष १६, काठमाडौं । नुवाकोट र रसुवाकोबीच भएर बग्ने त्रिशुली गंगाको प्राकृतिक वहाब रोक्ने गरी त्रिशुली गंगा जलविद्युत् आयोजना बनाउन लागिएको भन्दै बेत्रावतीका स्थानीयले विरोध गरेका छन्।

नुवाकोटको उत्तरगयाका स्थानीयले सोमबार उर्जा, जलस्रोत तथा सिंचाई सचिव दिनेश कुमार घिमिरेलाई भेटी ऐतिहासिक तथा धार्मिक महत्वको उत्तरगयाको संरक्षण गर्न ध्यानाकर्षण गराएका हुन्।

विकासको नाममा त्रिशुली गंगाको प्राकृतिक वहावलाई परिर्वतन गर्ने वा रोक्ने काम मान्य नहुने भन्दै उनीहरुले उत्तरगयाको ऐतिहासिक महत्वको स्थलभन्दा करिब २ सय मिटर माथि आयोजना निर्माणको व्यवस्था मिलाउन आग्रह गरे।

पौराणिक, धार्मिक तथा सांस्कृतिक महत्व बोकेको उत्तरगया धाम भएर बग्ने त्रिशुलीको पानीको प्रयोग गर्ने गरी पर्फेक्ट इनर्जी डेभलपमेण्ट प्रालिद्वारा प्रस्तावित मध्ये त्रिशुली गंगा जलविद्युत् आयोजना (१९.४१) ले विद्युत् उत्पादनको अनुमति नलिईकनै विद्युत् प्राधिकरणसँग विद्युत् खरिद सम्झौता समेत गरेपछि स्थानीय आन्दोलित भएका हुन्। उनीहरुले नदी नै सुकाउने र ऐतिहासिक तथा सांस्कृतिक महत्वलाई असर पार्ने गरी कुनै पनि निर्माण कार्य हुन नदिन चेतावनी नै दिए।

वातावरणीय रुपमा प्रतिकूल असर पर्ने, धार्मिक आस्थामाथि चोट पुग्ने स्थानीय बासिन्दाको दावी छ। सरकारले चाहेमा दक्षिण गयाको शिरको रुपमा बुझिने उतरगयाको धार्मिक पर्यटकीय रुपमा बढी फाइदा लिन सक्ने बताइन्छ। हरेक वर्ष पुस औंसीका दिन उत्तरगयामा पितृ तर्पण गर्ने गरिन्छ।

यसवर्ष आगामी पुस २१ गते शनिबार औंसी परेको छ। गोसार्ईंकुण्ड मुहान भई बग्ने त्रिशुल गंगा त्रिशुली, रुद्रगंगा र बेत्रगंगा उत्तरगयाको संगम स्थल हो। यही संगममा हिन्दुहरु मात्रै नभई बौद्ध धर्माबलम्बीहरु पनि पुर्खाको सम्मान स्वरुप श्राद्ध गर्न पुग्ने गर्छन्।

धार्मिक महत्वको धरोहरको अस्तित्व संकटमा पर्ने भन्दै यसअघि त्रिशुली जलविद्युत् केन्द्र निर्माण अघि पनि स्थानीयको विरोधका कारण आयोजनाको मुहान डेढ किलोमिटर तल सारिएको थियो। बेत्रावतीका स्थानीयसँगको भेटमा सचिव घिमिरेले आयोजना निर्माणको सम्पुर्ण प्राविधिक पक्ष बुझेर आवश्यक कदम चालिने आश्वासन दिए।

आयोजना निर्माणको अनुमति विना नै विद्युत् प्राधिकरणसँग विद्युत् खरिद सम्झौता भएपछि यो विषय थप विवादित बन्दै आएको छ। पहिले खारेज भईसकेको आयोजना निर्माणको स्वीकृति पुनः लिन लागिएको हो।

ताजा अपडेट

खोजी गर्नुहोस