संसद् सचिवालको पत्र कार्यान्वयन नगर्न अन्तरिम आदेश

मंसिर २३,काठमाडौँ । सर्वोच्च अदालतले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराको निलम्बन निष्प्रभावी भएको भनेर संसद् महासचिव भरतराज गौतमले दिएको पत्र तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ ।

कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीसहित न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हा रहेको संवैधानिक इजलासले संवैधानिक हैसियत नभएको महासचिवको त्यो पत्र कार्यान्वयन नगर्न नगराउन आज शुक्रवार अन्तरिम आदेश जारी गरेको हो ।

गएको बुधवार संसद्का महासचिव गौतमले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोग प्रस्ताव निष्प्रभावी भएको पत्र राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सर्वोच्च अदालतलगायत निकायमा पठाएका थिए ।

महासचिव गौतमले पत्र दिएपछि त्यसका विरुद्ध गएको बुधवार सर्वोच्च अदालत बार एसोसिएसनका अध्यक्ष पूर्णमान शाक्यसहित नौ जनाले रिट दायर गरेका थिए । त्यही रिटमा निवेदकतर्फको बहस सकेर संवैधानिक इजलासले पत्र कार्यान्वयन नगर्नरनगराउन अन्तरिम आदेश जारी गरेको सर्वोच्च अदालतले जनाएको छ ।

यससँगै आउँदो मङ्सिर २७ गते ६५ वर्षे उमेर हदका कारण सेवानिवृत्त हुनुअघि सर्वोच्च अदालत फर्कने जबराको अन्तिम प्रयास पनि असफल भएको छ ।

संम्बन्धित समचार

Leave a Reply