निर्वाचन आयोगले आज अन्तिम परिणाम घोषणा गर्ने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ मंसिर २८, बुधबार (१ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

मंसिर २८, काठमाण्डौ । निर्वाचन आयोगले ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचनको अन्तिम परिणाम बुधबार घोषणा गर्ने भएको छ । प्रमुख आयुक्त दिनेश थपलियाले दलहरूबाट समानुपातिकतर्फ निर्वाचित हुने प्रतिनिधिसभाका ११० र प्रदेश सभाका २२० उम्मेदवारको नामावली प्राप्त भइसकेकाले उनीहरूलाई निर्वाचित गरेर अन्तिम परिणाम घोषणा गर्न लागिएको बताए ।

मतदानको १६ दिनपछि २० मंसिरमा प्रतिनिधिसभाको २७५ र प्रदेश सभाको ५५० क्षेत्रको मतगणना सकाएको आयोगले २१ गते दलहरूलाई तीन दिनको समय दिएर बन्दसूचीबाट समानुपातिकतर्फ निर्वाचित हुने उम्मेदवारको नामावली मागेको थियो । २४ मंसिर अबेर रातिसम्म नामावली बुझाएकामध्ये पाँच दलको सूची त्रुटिपूर्ण थियो । थप दुई दिनको समय पाएका दलहरूले सोमबार सच्याएर नामावली बुझाएका थिए ।

यसमध्ये त्रुटिपूर्ण सूची बुझाएको एमालेले पुरानै नामावलीलाई मान्यता दिन माग गर्दै सच्याउन अस्वीकार गरेको थियो । आयोगले बन्दसूची हेरफेर गर्ने कानुन नभएकाले समावेशी समूह र प्राथमिकता क्रमअनुसार मिलाएर ल्याउन ताकेता गरेपछि मंगलबार एमालेले सच्याएर नामावली बुझाएको छ ।

समानुपातिकतर्फ सबै दलको नामावली बन्दसूचीको क्लस्टर र प्राथमिकता क्रमअनुसार प्राप्त भएपछि आयोगले बुधबार अन्तिम परिणाम घोषणा गर्न लागेको प्रमुख आयुक्त थपलियाले बताए । प्रत्यक्षतर्फ भने गणना सकिएलगत्तै मुख्य निर्वाचन अधिकृतले निर्वाचन क्षेत्रमै निर्वाचित गरेर प्रमाणपत्र दिइसकेका छन् । समानुपातिकतर्फका निर्वाचित सदस्यहरूलाई मुख्य निर्वाचन अधिकृत एवं आयोगका सचिव गोकर्णमणि दुवाडीले प्रमाणपत्र प्रदान गर्नेछन् ।

ताजा अपडेट

खोजी गर्नुहोस