गोरखापत्र संस्थानका प्रकाशनले नेपालीको आवाजलाई प्रतिनिधित्व गर्नुपर्छ : सञ्चार मन्त्री

पौष १, काठमाण्डौ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले गोरखापत्र संस्थानका प्रकाशनले नेपालीको आवाजलाई प्रतिनिधित्व गर्नुपर्ने बताएका छन्  । ‘द राइजिङ नेपाल’ अङ्ग्रेजी दैनिक पत्रिकाको ५७ औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा सरकारका प्रवक्तासमेत रहेका मन्त्री कार्कीले गोरखापत्र र राइजिङ नेपाललाई सत्यतथ्य, निष्पक्ष र विश्वसनीय छापामाध्यमका रुपमा विकास गर्नुपर्ने बताएका हुन् ।

उनले भने, “गोरखापत्र संस्थानका प्रकाशनले नेपालीको आवाजलाई प्रतिनिधित्व गर्नुपर्छ, केबल विज्ञापनको निमित्त मात्रै होइन, समाचारका निमित्त पनि विश्वसनीय पत्रिकाका रुपमा गोरखापत्र र राइजिङ नेपालले जनताको पत्रिकाका रुपमा विकसित गर्न सबैको ध्यान पुग्नुपर्छ ।”उहाँले  राइजिङ नेपाललाई अझै विश्वसनीय र पठनीय पत्रिकाका रुपमा विकास गर्नुपर्नेमा जोड दिएका छन् ।

उनले अहिले संसारभरि नै छापालाई अनलाइन सञ्चारमाध्यमले विस्तारै विस्थापित गर्दै गरेको यथार्थ हाम्रासामु रहेको उल्लेख गर्दैै यो नेपालमा अपवाद हुन सक्दैन  भनेका छन् । “ राइजिङ नेपाल ५७ वर्ष पूरा हुनु गर्वको कुरा हो”, उनले भने ।

हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनबाट जनताले मुलुकमा विकास र समृद्धि चाहेको बताउँदै उहाँले त्यो चाहनालाई कत्ति पनि विलम्ब नगरी आफ्नो दायित्व पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

विसं २०२२ पुस १ गतेदेखि राइजिङ नेपालको प्रकाशन सुरु भएको हो । ठूलो आकारको पहिलो अङ्ग्रेजी दैनिकका रुपमा राइजिङ नेपाल गोरखापत्र प्रकाशन सुरु भएको ६४ वर्षपछि मात्रै प्रकाशन भएको हो । राइजिङ नेपालको प्रथम सम्पादक वरुण शमशेर राणा थिए । अहिले १५ औँ सम्पादकका रुपमा भीमसेन थपलिया छन्  ।

कार्यक्रममा सञ्चार मन्त्रालयका सचिव डा वैकुण्ठ अर्यालले राइजिङ नेपाललाई अझै सत्यतथ्य, निष्पक्ष, विश्वसनीय, मर्यादित, पठनीय र जनताप्रति उत्तरदायी बनाउनुपर्नेमा जोड दिएका छन् । गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदीले संस्थानका प्रकाशनमा पहिलेको तुलनामा सुधार हुँदै गएको बताए । उनले संस्थानका प्रकाशनमा आगामी दिनमा विषयवस्तु प्रस्तुति, शैली, भाषा लगायतमा अझै सुधार गरेर लैजाने प्रतिबद्धता व्यक्त गरेका छन् ।

संम्बन्धित समचार

Leave a Reply