कांग्रेसको संसदीय दलको नेताको निर्वाचन बुधबार हुने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ पौष ४, सोमबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

पौष ४,काठमाडौँ । नेपाली कांग्रेसको संसदीय दलको नेता एवं संसदीय दल कार्यसमितिको निर्वाचन बुधबार बिहान हुने भएको छ । कांग्रेस संसदीय दलको निर्वाचन सम्पन्न गर्न गठित निर्वाचन समितिले बुधबारका लागि मिति तोकेको हो । आइतबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले संसदीय दलको निर्वाचनका लागि सहमहामन्त्री भीष्मराज आङ्दम्बेको नेतृत्वमा तीन सदस्यीय निर्वाचन समिति गठन गरेको थियो ।

संयोजक आङ्दम्बेसहित केन्द्रीय सदस्य पुष्पा भुसाल र प्रकाश रसाइली (स्नेही) सदस्य रहेको निर्वाचन समितिले बुधबार बिहान ८ बजेदेखि १० बजेसम्म संसदीय दलको निर्वाचन गराउने भएको हो ।

संयोजक आङ्दम्बेका अनुसार सोमबार बिहान पार्टी कार्यालय सानेपामा बसेको निर्वाचन समितिको बैठकले निर्वाचनको समय तालिका पनि बनाएको छ । आजै मतदाता नामावली प्रकाशित गरिने समितिकी सदस्य पुष्पा भुसालले बताइन् । उनले भनिन्, ‘आज मतदाता नामावली प्रकाशन हुन्छ । त्यसपछि दाबी–विरोध हुन्छ । अन्तिम नामावली प्रकाशित हुन्छ ।’ कांग्रेसमा संसदीय दलको चुनावमा प्रतिनिधिसभाका सांसद मतदाता हुने व्यवस्था छ ।

उम्मेदवारी दर्ता भने बुधबार बिहानै सुरु हुने उनको भनाइ छ । उनले भनिन्, ‘उम्मेदवारी दर्तामाथि दाबी–विरोधको समय सकिएपछि मतदान सुरु हुन्छ ।’

कांग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा, नेता शेखर कोइराला, महामन्त्री गगन थापाको उम्मेदवारी रहने सम्भावना छ ।

ताजा अपडेट

खोजी गर्नुहोस