१ जनवरीदेखि पोखराका सबै आन्तरिक उडान नयाँ विमानस्थलबाट

पौष ५,काठमाडौँ । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल व्यावसायिक रुपमा सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको छ । सरकारले यो विमानस्थललाई १ जनवरी २०२३ देखि व्यावसायिक रुपमा सञ्चालनमा ल्याउने तयारी गरेको छ । सोही दिनदेखि सबै आन्तरिक उडान नयाँ विमानस्थलबाट हुने विमानस्थल कार्यालयका प्रवक्ता अनुप जोशीले जानकारी दिए ।

जोशीका अनुसार अल्ट्रालाइट र हेलिकप्टर भने तत्कालका लागि पुरानै विमानस्थलबाट सञ्चालन हुनेछन् । ‘यो विमानस्थल तत्कालका लागि भीएफआर प्रविधिबाट सञ्चालनमा आउँछ, यसको मतलब घाम उदाएपछि नअस्ताएसम्म यहाँ उडानअवतरण हुनेछन्’ उनले भने ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार यस विमानस्थलमा गरिएको क्यालिब्रेसन उडानको प्रारम्भिक प्रतिवेदन आएपनि पूर्ण विवरण आइसकेको छैन । यहाँ एरोथाइ कम्पनीले क्यालिब्रेसन उडान गरेको थियो । पूर्ण प्रतिवेदन आएपछि भने पोखराको प्याराग्लाइडिङसहित अन्य विषयहरुबारे निर्णय हुने जोशीले जानकारी दिए ।

‘पूर्ण प्रतिवेदन नआएसम्म अन्य अवस्थाबारे भन्न सक्ने अवस्था भने रहन्न,’ उनले भने । पोखरामा निर्माण भएको नयाँ विमानस्थलमा यसैसाता एटीआर ७२ जहाजबाट परीक्षण उडान गर्ने तयारी छ । सो उडानपछि आन्तरिक उडानका लागि भने बाटो खुल्नेछ ।

संम्बन्धित समचार

Leave a Reply