पर्सा निकुञ्जमा जरायोको शिकार गर्दै गरेका ५ जना पक्राउ

दिपु वर्णवाल                  

पौष ५, वीरगञ्ज । पर्सा राष्ट्रिय निकुञ्जमा जरायोको शिकार गर्दै गरेका ५ जना पक्राउ परेका छन् । पर्सा राष्ट्रिय निकुञ्ज अन्तर्गत पर्साको सखुवाप्रसौनी गाउँपालिका वडा नम्बर १ अकुअनिया नजिकको जङ्गलमा वन्यजन्तुको शिकार गर्न पुगेका स्थानीय ३ जना र काभ्रे जिल्लाका २ जना गरी ५ जनालाई निकुञ्ज संरक्षणमा खटिएको टोलीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सखुवाप्रसौनी गाउँपालिका वडा नम्बर १ का झापस दास थारु, अकुअनिया टोलका नवराज बस्नेत, काभ्रे घर भई हाल सखुवाप्रसौनी १ मै बस्ने दामोदर अधिकारी, वडा नम्बर १ खजुरिया निवासी विशाल सहनी, काभ्रेको नासिकका मालदोङ्ग तामाङ्ग रहेको पर्सा राष्ट्रिय निकुञ्ज अधाभारका प्रमुख संरक्षण अधिकृत अशोक रामले जानकारी दिए ।

पक्राउ परेकाहरुको साथबाट टाउकोमा गोली लागी मृत अवस्थामा रहेको पोथी जरायो र भाले जरायोको टाउको, शिकार गर्न प्रयोग भएका १२ बोरको भरुवा बन्दुक १ थान, १२ राउण्ड गोली, पाँच थान मोवाईल, नाईट भिजन क्यामेरा, बाईनाकुलर, दुई लाख ९० हजार ६ सय ३० रुपैया नगद बरामद भएको पनि प्रमुख संरक्षण अधिकृत रामले बताए ।

यस्तै उनीहरुले प्रयोग गरेको बा ५ त ७८०५ नम्बरको टोयटा गाडी र प्रदेश २ ०२–०३–००१ च ३०९७ नम्बरको बोलेरो गाडी पनि बरामद भएको छ ।

पक्राउ परेकालाई बरामद सामान सहित पर्सा राष्ट्रिय निकुञ्जमा राखिएको निकुञ्जका सूचना अधिकारी सुर्य खड्काले बताए । नियन्त्रणमा लिएको गाडी मध्य एउटा गाडी नवनिर्वाचित प्रदेशसभा सदस्य प्रमोद जयसवालले प्रयोग गर्ने गाडी रहेको पनि स्रोतले जनाएको छ । त्यसको आधिकारिक पुष्टि भने भएको छैन ।

संम्बन्धित समचार

Leave a Reply