सत्ताकेन्द्रित कम्युनिष्ट धुव्रीकरण र बर्तमान राजनीतिको परिदृष्य

-राज ढुंगाना                         

लामो रस्साकस्सी,घोच्कापेच्का र फराकिलो मौनतापछि तत्कालिन नेकपाका तिन शीर्षनेता केपि ओली,प्रचण्ड र माधव नेपालबीच दोहोरो कुराकानी भएको छ । यतिमात्रै हैन् नेकपा एमालेका अध्यक्ष केपि ओलीको प्रस्तावमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री पदमा आसीन हुन पुगेका छन् । यो नेपाली कम्युनिष्ट मनहरु,कम्युनिष्ट आस्थाहरुको लागि सुखद,उल्लासयुक्त र सकारात्मक क्षण हो । नेपाली इतिहासमा नेपालका कम्युनिष्ट सत्ताका लागि फुटेको र सत्ताले नै जुटेको उदाहरण प्रशस्तै पाइन्छ । यद्यपी त्यो नेपाली कांग्रेस र अन्य मध्यमार्गी दलहरुमा समेत लागु हुन्छ । तत्कालिन नेकपाका मुख्य नेताहरु हिजो जुन बिन्दुमा असहमति गरेर छुटेका र फुटेका थिए । त्यो बिन्दुमा आएर एउटाबाट तिनवटा राजनितिक शक्ति बनेका नेकपा एमाले ,नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादीका अध्यक्ष त्रय एउटा विशेष परिस्थितिमा संवाद गर्न र सहकार्य गर्न बाध्य भएका छन् । यसको मुख्य कारण सत्ता नै हो भन्दा अतियोशक्ति नहोला । तर यसको गहिराइमा पुग्न हिजोका विगतलाई फर्केर हेर्नपर्ने हुन्छ । आखिर यो सबै वातावरण कसरी बन्यो ? धेरैलाई लाग्न सक्छ कुनै विदेशी शक्तिका कारण कम्युनिष्ट नेताहरु मिल्न पुगे । कसैलाई लाग्न सक्छ सैदान्तिक रुपमा निरन्तर एकै ठाँउमा उभिन कांग्रेस र माओवादी र नेकपा एसलाई पाच्य भैरहेको थिएन्, सुहाइरहेको थिएन् । कसैलाई लाग्न सक्छ धन देख्ने बित्तिकै महादेवको तिन नेत्र भनेजस्तै सत्ता देख्ने बित्तिकै केपि–प्रचण्डका लामा हात । यो आफ्नो सोच अनुसारको ब्याख्यात्मक टिप्पणी हुनसक्छ् । लोकतन्त्रमा आफ्नो विचार राख्न पाउनु हामी सबैको अधिकार हो । सबैले यसको विषयमा ब्याख्या गर्लान् तर अव नेपाली राजनीति कता मोडिएला भनेर बहस सुरु भएको छ । फेरि कम्युनिष्ट पार्टीहरुबीचको हिमचिमले देश तथा विदेशमा हलचल ल्याएको  छ ।

एकैछिन विगतलाई हेरौँ–२०७५ जेठ ३ मा तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्र एकिकरण भएपछि आम नागरिकमा एउटा उत्साह,आशा र भरोसा थियो । मुलुकको दुई ठूला कम्युनिष्ट पार्टी नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) एकीकरण घोषणाका दिन, ३ जेठ २०७५ मा अध्यक्षद्वय केपीशर्मा ओली र पुष्पकमल दाहालले बालुवाटारमा वनस्पति जगतमा जीवित जीवाश्म (लिभिङ फोसिल) भनेर चिनिने जिंगो बिलोबाको विरुवा रोपेका थिए । त्यो बिरुवालाई आगामी दिनमा बालुवाटारमा ओली र प्रचण्डले हेर्छन की हेर्दैनन् त्यो भविश्यले नै देखाउला । २०७७ फागुन २३ मा सर्वोच्चले दुईपार्टीलाई पुरानै अवस्थामा फर्काइदिएपछि करिव २ बर्ष ९ महिनापछि नेकपा टुक्रा–टुक्रा भएर फुटेको थियो । तत्कालिन नेकपाका एक अध्यक्ष प्रचण्डले १९ बुँदे फरकमत सहितको पत्र पेश गरेपछि अर्का अध्यक्ष ओलीले २०७७ मंसिर १३ गते ३८ पृष्ठको जवाफीपत्र पेश गरेका थिए । मुख्यगरी प्रधानमन्त्रीमा आलोपालो सहमती कार्यान्वयन नहुनु र पार्टीको पद्धतिमै असन्तुष्टि हुनु नै नेकपाको विभाजनको मुख्य कारण थियो । अन्य तपशिलको विषय रहेछन् भन्ने पुष्टि अहिलेको गठबन्धन सरकार निर्माणबाट नै हुन्छ ।

अब अहिलेको परिस्थिती हेर्ने हो भने शित्तल निवासको सपथ समारोहले कम्युनिष्ट मिलापत्रलाई थप मलजल गरेको देखिन्छ । पार्टी विभाजनपछि एकअर्कालाई सुन्न र देख्न नचाहेका केपि ओली र माधव नेपाल २०७९ पौष ११ मा संगै बसेर सन्चो बिसन्चो सोध्ने अवस्थामा पुगेका छन् र खाजा संगै खाँदै राजनितिक अवस्था नियालिरहेको बताइरहेका छन् । यसले आगामी दिनमा ओली–प्रचण्ड र माधव नेपालको सहकार्यको हात अघि बढ्ने संकेत दिएको छ । २०७४ सालमा ५० बर्ष बाम गठबन्धन टिक्ने र बाम सरकार बनाउने कसम खाएर भोट मागेका नेताहरुले बिचमै जनतालाई धोका दिएर अस्थिरताको राजनिती सुरु गरेका थिए । झण्डै १ बर्ष १० महिना छिन्नभिन्न भएका कम्युनिष्ट शक्ति शित्तल निवासमा एक अर्कालाई मित्र ठान्न पुगेका छन् ।

यतिबेला हिजोको प्रतिगमनविरुद्ध एक भएको नेकपा माओवादी केन्द्र,नेकपा एकिकृत समाजवादी र नेपाली कांग्रेसमध्ये आज नेकपा माओवादी केन्द्र सरकारको नेतृत्व गर्न पुगेको छ । नेकपा एस भने नवनिर्मित गठबन्धनमा सामेल हुने आधार खोजिरहेको छ । हिजोको प्रतिगमनकारी शक्ति भनिएको नेकपा एमाले आज नयाँ सरकारको सुत्राधार मात्रै भएको छैन् । मुख्य आधार बनेको छ । निर्वाचनपछि सबैभन्दा ठुलो दल भएको नेपाली कांग्रेस बर्तमान दृष्यको किनाराको साक्षी भएको छ ।

नेपालको बर्तमान सरकारको निर्माणमा देशी विदेशी चलखेल के–के भए कसरी भए भन्ने विस्तृत आउला नआउला त्यो आफ्नो ठाँउमा छ तर यो पटक उत्तरी शक्ति सफल भयो भन्ने निष्कर्षमा दक्षिणी शक्तिपुगेको छ । यसको मुख्यकारण नेपालको राजनितीमा प्रत्यक्ष हस्तक्षेप नगर्ने दक्षिणी शक्तिको मनोभावनाले काम गरेको बुझाई कुटनितिक क्षेत्रमा रहेको छ । के चीनले बाम शक्तिहरुलाई एक बनाउन प्रयत्न गरेको हो ? उत्तरी शक्ति नेपालको आन्तरिक मामलामा हस्तक्षेप गर्न सफल भएको हो ? यो प्रश्नको उत्तर आगामीदिनमा सत्तासिनदलहरुको गतिविधिले अवश्य देला । तर सिदान्त,विधि,पद्धतीलाई तिलाञ्जली दिएर केवल सत्ताको भोगको लागि नेपालका कम्युनिष्टहरु जे पनि गर्न सक्छन् र उनिहरु जस्तोसुकै मुभ गर्न सक्छन् भन्ने ज्वलन्त उदाहरण नेपाली कम्युनिष्ट राजनितिक शक्तिहरुले दिएका छन् । चुनाव अघि १७ बर्ष कांग्रेस गठबन्धन टिक्ने दावी गर्ने प्रचण्ड एमालेको सहयोगमा सिंहदरवार छिरेका छन् भने कांग्रेस सभापति शेरबहादुर देउवा सत्ताविहिन भएर धुम्बाराहीस्थित भाडाको घरमा पुगेका छन् । यसले आगामी दिनमा नेपालका राजनितिक दलहरुमा गठबन्धन संस्कार नटिक्ने मात्रै होइन् गठबन्धन नामै सुन्न नचाहने स्थिती बन्ने देखिन्छ । दलहरुका एकले अर्कोप्रति गर्ने बेइमानी,सत्तालिप्सा,सहमती उल्लघंन जस्ता कार्यले आगामी दिनमा राजनितिक दलहरु एक आपसमा विश्वास गर्न नसकिने अवस्थामा पुग्ने राजनितिक विश्लेषकहरु बताउन थालेका छन् ।
बर्तमान सरकारको दिर्घकालका विषयमा सरकार बनेसंगै शंका उपशंका सुरु भैसकेको छ ।

अहिलेको गठबन्धनलाई एमाले अध्यक्ष ओलीले जोगाउलान वा नजोगाउलान ? प्रचण्ड साँढे २ बर्ष सत्तामा टिक्ने वातावरण होला नहोला ? केपि ओली यतिबेला माधव नेपालको नेतृत्वमा रहेको नेकपा एकिकृत समाजवादीलाई भित्र्याउन हत्तार गरिरहेका छन् कारण उनि एमालेलाई पहिलो शक्ति बनाएर भावी प्रधानमन्त्री कुनैपनि बेला बन्न चाहन्छन् उनको यो अर्को सत्ता स्वार्थ हो तर नेकपा एकिकृत समाजवादीले हिजोको प्रतिगमनका विषयमा एमालेसंग ठोस निर्णयमा नपुगिकन कुनै किसिमको सहकार्य र एकिकरणमा पुग्नु नेपालको पार्टी र उनलाई अघि सारेर हिँडेका तमाम राजनितिक कार्यकर्ताको भविष्य डामाडोल हुने निश्चित छ । कथमकदाचित नेपालले कुनै किसिमको नाइनास्ती र ठोस आधारविना एकतालाई अघि सारे उनि सदाको लागि राजनितिक शक्तिबाट हराउने नै छन् त्यो संगै उनि निकट नेता-कार्यकर्ताको राजनितिक भविष्य अन्धकार हुने प्रष्ट छ । माधव नेपालमात्रै हैन् माओवादी अध्यक्ष प्रचण्डले समेत अहिलेको परिस्थितीका विषयमा आम जनतालाई प्रष्ट पार्नुपर्ने हुन्छ । चार बर्षअघि ५० बर्ष टिक्छ भनेर गरिएको बाम गठबन्धन र डेढ महिनाअघि १७ बर्ष कांग्रेस गठबन्धन टिक्छ भनेर कार्यकर्तामाझ गरेको प्रतिबद्धताका सवाललाई आगामी दिनमा विशेषत: प्रचण्डमाथी आम नागरिकले प्रश्न गर्ने नै छन् ।

संम्बन्धित समचार

Leave a Reply