सुशासन र समृद्धिलाई मूलमन्त्र बनाउछु : प्रधानमन्त्री प्रचण्ड

पौष १७,काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सामाजिक न्याय, सुशासन र समृद्धिलाई मूलमन्त्र बनाएर नागरिकको निम्ति समर्पित भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

आज आइतवार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन समारोहमा बोल्दै प्रधानमन्त्री प्रचण्डले आफूले बाँकी जीवन देशको आर्थिक विकास र समृद्धि तथा सुशासन र सामाजिक न्यायका लागि भनेर चुनावका बेला नागरिकसमक्ष कबुल गरेको उल्लेख गर्दै त्यहीअनुसार आफूले काम गर्ने बताएका छन् । उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणले पोखरामा मात्रै नभइ सिङ्गै देशको अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वाससमेत व्यक्त गरे ।

उनले भने, ‘यो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण हुनुपर्दछ भनेर यहाँका नागरिकले पटक–पटक गरेको आन्दोलन, सङ्घर्ष, अनशन तोड्नका लागि म आफैँले लिएका पहलकदमी र भूमिका स्मरण गरिराखेको छु । यो विमानस्थलले यस जिल्लाको र सिँगै राष्ट्रको पनि आर्थिक विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याउने कुरामा कसैले पनि दुईमत राख्दैन । मैले भनेको छु– यो पटक हामीले सामाजिक न्याय, सुशासन र समृद्धिको मूलमन्त्र बनाएर नागरिकको निम्ति समर्पित भएर काम गर्ने अठोट गरेका छौँ । यहाँहरूलाई थाहा छ– मैले चुनावको अभियानको दौरानमा देशैभरि घुम्दा पनि सामाजिक न्याय, सुशासन र विकास नै अब देशको एजेन्डा बन्नेछ, बन्नु पर्दछ भनेको थिएँ । शान्ति सम्झौताको हस्ताक्षरकर्ताको नाताले र सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको समावेशी, समानुपातिक संविधान निर्माणमा नेतृत्वदायी भूमिका खेलेको नेताको हैसियतले पनि मैले बाँकी जीवन आर्थिक विकास र समृद्धिमा, सामाजिक न्याय र सुशासनमा भनेर मैले नागरिकको अगाडि कबुल गरेको छु ।’

प्रधानमन्त्री प्रचण्डले यो विमानस्थल निर्माणका लागि आफूले लिएको पहलकदमीबारे चर्चा गर्दै आफैँले प्रधानमन्त्रीको रूपमा उद्घाटन गर्न पाउँदा हर्ष र गर्व दुवै लागेको बताए । उनले कास्की आफ्नो जन्मस्थल भएको उल्लेख गर्दै त्यसले आफूलाई अझ नयाँ ऊर्जाका साथ काम गर्न प्रेरणा मिलेको उल्लेख गरे ।

प्रधानमन्त्री प्रचण्डले देशको आर्थिक विकासका लागि ुकनेक्टिभिटीु को महत्त्वपूर्ण भूमिका भएको भन्दै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले त्यसमा योगदान पुर्‍याउने बताए । उनले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण छिट्टै सुरु गर्ने आश्वासन पनि दिए ।

कार्यक्रममा पोखरा विमानस्थल निर्माणमा योगदान पुर्‍याउने पूर्वपर्यटनमन्त्रीहरूलाई पनि सम्मान गरिएको थियो ।

संम्बन्धित समचार

Leave a Reply