राष्ट्रिय सभाको उपनिर्वाचन माघ २५ मा गर्न प्रस्ताव     

पौष २०, काठमाण्डौँ । निर्वाचन आयोगले माघ २५ गते राष्ट्रिय सभा सदस्यको रिक्त एक सदस्यका लागि उपनिर्वाचन गर्ने गरी निर्वाचनको मिति तोक्न नेपाल सरकारलाई परामर्श दिएको छ । सरकारले तोकेको मितिमा आयोगले  राष्ट्रिय  सभाको उपनिर्वाचन गराउनुपर्ने व्यवस्था अनुसार मिति तोक्न आयोगले सरकारलाई पुस १८ गते लिखित परामर्श दिएको हो । आयोगका प्रमुख निर्वाचन आयुक्त सहितका पदाधिकारीले प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटवार्ता गरी परामर्श दिएका हुन् ।

उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने र सरकारका मुख्यसचिव शंकरदास वैरागीको उपस्थिति रहेको थियो । भेटघाटमा राष्ट्रिय सभाको रिक्त सदस्यको निर्वाचन, राष्ट्रपति तथा उपराष्ट्रपति पदको निर्वाचन र एकीकृत निर्वाचन कानूनका विषय लगायत समसामयिक विषयमा छलफल तथा परामर्श भएको थियो ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले राष्ट्रिय सभामा लुम्बिनी प्रदेशबाट निर्वाचित सदस्य खिमलाल भट्टराई अन्य समूहको २०७९ असोज २३ मा राजीनामा स्वीकृत भई रिक्त पदको उपनिर्वाचन गर्ने, वर्तमान राष्ट्रपतिको पदावधि २०७९ फागुन २८ गतेसम्म हुने भएकाले सो अगाडि राष्ट्रपति पदको निर्वाचन र राष्ट्रपतिको निर्वाचन भएको १५ दिनभित्र उपराष्ट्रपति पदको निर्वाचन सम्पन्न गराउनुपर्ने अवस्था रहेको अवगत गराए । राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ६१ मा कुनै सदस्यको पदावधि ६ महीनाभन्दा बढी कायम रहँदै कुनै कारणले पद रिक्त भएमा बाँकी अवधिका लागि रिक्त भएको मितिले ३५ दिनभित्र गर्नुपर्ने व्यवस्था छ । 

संम्बन्धित समचार

Leave a Reply