डोल्पाको दुनैमा गाडीको चहलपहल सुरु, गाडी फेर्दै यात्रा गर्नुपर्ने बाध्यता कायमै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ पौष २२, आईतबार (६ साल अघि)
  • ३२ पटक पढिएको
Post Thumbnail

पुस २२,काठमाडौँ । जाजरकोट–डोल्पा सडक अन्तर्गत रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–४, गोतामकोटदेखि डोल्पा सदरमुकाम दुनैसम्म गाडी चल्न थालेका छन् । गोतामकोटबाट गाडी चढेका यात्रु झण्डै ५ घण्टापछि दुनै पुग्ने गरेका छन् ।

सडकका विभिन्न ठाउँमा पर्ने खोला र ठूलीभेरी नदीको कारण गोतामकोटदेखि दुनैसम्म चल्ने एउटै गाडी भने गोतामकोटबाट सिधै दुनै पुग्दैन । गाडी फेर्दे यात्रुहरु गोतामकोटबाट डोल्पाको दुनैसम्म पुग्ने गरेका छन् । अघिल्लो वर्ष गोतामकोटदेखि डोल्पाको हरियापानीसम्म मात्रै गाडी चल्ने गरेको भए पनि यो वर्षदेखि भने दुनैसम्म नै गाडी चल्न थालेका हुन् ।

गोतामकोटबाट तीन वटा गाडी परिवर्तन गरेर मात्रै यात्रु दुनै पुग्ने गर्छन् । एक हजार चार सय ५० रुपैयाँ भाडा तिरेर यात्रुले गोतामकोट–दुनै यात्रा गरिरहेका छन् । रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–४, गोतामकोटबाट डोल्पाको त्रिपूराकोट नगरपालिका हरियापानीसम्म पहिलो गाडी लाग्छ । यो खण्डमा यात्रा गर्दा एकजनाले यात्रुले सात सय भाडा तिर्नुपर्छ । यो खण्डमा रेमन यातायात प्रालिले दैनिक ६ देखि ८ वटा सम्म जीप सञ्चालन गरेको छ ।

गोतामकोटबाट ३ घण्टाको गाडी यात्रापछि हरियापानी ओर्लेर डोल्पाको खदाङ पुग्ने यात्रुले खदाङबाट डोल्पाकै त्रिपूराकोट पुग्ने अर्को गाडी चढ्नु पर्छ । तीन सय ५० रुपैयाँ प्रतियात्रु भाडा लाग्ने यस खण्ड डेढ घण्टाको बाटो हो । त्यसपछि त्रिपूराकोटबाट दुनै पुग्न एउटा यात्रुबाट यातायात व्यवसायीले ४ सय रुपैयाँ लिने गरेका छन् । झण्डै २ घण्टामा त्रिपूराकोटबाट दुनै पुग्न सकिन्छ ।

जाजरकोट–डोल्पा सडक अन्तर्गतको सडकको पुरै ट्रयाक खोलिए पनि खोला तथा ठूली भेरी नदीमा पुल नबन्दा समस्या छ ।

धेरै ठाउँका खोला र ठूली भेरी नदीमा पुल नबनेकै कारण सर्वसाधारणलाई गाडी फेर्दै यो खण्डमा यात्रा गर्नुपर्ने बाध्यता भने कायमै छ ।

ताजा अपडेट

खोजी गर्नुहोस