नेपालगञ्जमा दादुराको संक्रमण फैलियो, एक बालकको मृत्यु, २९ बढी बिरामी

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ पौष २१, बिहिबार (१ साल अघि)
  • २ पटक पढिएको
Post Thumbnail

पौष २१, काठमाण्डौँ । बाँकेको नेपालगञ्ज क्षेत्रमा दादुराको संक्रमण फैलिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका ६ वटा वडामा दादुराको प्रकोप फैलिएको हो । बिहीबार दिउँसोसम्म २९ जना बिरामी फेला परेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । दादुराबाट संक्रमित एक बालकको बुधबार मृत्यु भएपछि प्रकोप नियन्त्रणका लागि सरकारी तथा गैरसरकारी स्वास्थ्य संस्थाहरूले सक्रियता बढाएका छन् ।

दादुरा नियन्त्रणका लागि उपमहानगर, जिल्ला जनस्वास्थ्य र भेरी अस्पतालका टोली परिचालन गरिएको छ । दादुरा संक्रमित बालबालिकाको घरमै उपचार भइरहेको छ । उनीहरूलाई आवश्यक स्वास्थ्य सेवा प्रदान गरिएको उपमहानगरपालिकाले जनाएको छ ।

नगरका वडा नम्बर ५, ७, ९, १०, १५ र २२ का वस्तीमा दादुरा फैलिएको हो । दादुरा नियन्त्रणका लागि स्थानीय सरकारको व्यवस्थापनमा जिल्ला जनस्वास्थ्य, भेरी अस्पताल, विश्व स्वास्थ्य संगठन, युनिसेफका टोलीहरूले काम गरिरहेको जिल्ला स्वास्थ्य सुपरभाइजर नरेश श्रेष्ठले बताए । ‘तत्कालै दादुरा खोप अभियान चलाउने तयारी भइरहेको छ । १५ वर्षमुनिका खोप लिन छुटेका बालबालिकालाई भोलिदेखि नै खोप दिइने छ,’ उनले भने ।

ताजा अपडेट

खोजी गर्नुहोस