कालिञ्चोक दर्शनले माघ ३ गतेदेखि आइपिओ निष्कासन गर्ने

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७९ पौष २४, आईतबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

पौष २४,काठमाडौँ । सर्वसाधारणका लागि कालिञ्चोक दर्शन लिमिटेडले माघ ३ गतेदेखि आइपिओ निष्कासन तथा बिक्री खुला गर्ने भएको छ।

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका कामदारका लागि आइपिओ बाँडफाँट गरी दोस्रो चरणमा सर्वसाधारणको लागि जारी गर्न लागेको हो।

कम्पनीले जारी पुँजी ६० करोड रूपैयाँको १८ प्रतिशतले हुन आउने १० करोड ८० लाख रूपैयाँ बराबरको १० लाख ८० हजार कित्ता सेयर सर्वसाधारणका लागि छुट्याएको थियो।

कम्पनीले सर्वसाधारणका लागि छुट्याएको कुल कित्ता सेयरमध्ये १० प्रतिशत अर्थात् १ लाख ८ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारका लागि बाँडफाँट गरिसकेको छ।

बाँकी रहेको सेयरमध्ये ५ प्रतिशत अर्थात् ५४ हजार कित्ता सामूहिक लगानी कोषहरूमा बाँडफाँट गरिसकेको छ।

सो मध्ये पनि २ प्रतिशतले हुन आउने २१ हजार ६०० कित्ता कर्मचारीहरूका लागि छुट्याएको र बाँकी ८ लाख ९६ हजार ४०० कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन्।

आइपिओ खरिदका लागि सर्वसाधारणले न्यूनतम १० कित्तादेखि अधिकतम ४ हजार ९९० कित्ताका लागि आवेदन दिन सक्ने कम्पनीले बताएको छ।

उक्त आइपिओ छिटोमा माघ ६ गतेसम्म बिक्री खुला रहनेछ भने छिटोे अवधिमा मागबमोजिम आवेदन नपरेमा ढिलोमा माघ १७ गतेसम्म आवेदन दिन सकिनेछ।

कम्पनीको आइपिओलाई केयर रेटिङ नेपालले केयर एनपी डबल बी प्लस इस्युअर रेटिङ प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यस्तरको जोखिम रहेको जनाउँछ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ रहेको छ।

आवेदकले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन्।

कम्पनीले आर्थिक वर्ष २०७/र७८ मा तीन करोड ६९ लाख रूपैयाँ आम्दानी गरेको छ। कम्पनीले ३५ कोठाको होटल निर्माणमा करिब २५ करोड लगानी गर्ने रणनीति बनाएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस