नागरिक उन्मुक्तिले अडान नछोडेपछि सुदूरपश्चिममा सभामुख चयन प्रक्रिया स्थगन

पौष २९, सुदुरपश्चिम । सुदूरपश्चिम प्रदेशसभामा सभामुख चयन प्रक्रिया स्थगित भएको छ । प्रदेशसभा सचिवालयले आज अपराह्न जारी गरेको सूचनामा अर्को सूचना प्रकाशित नभएसम्मका लागि बैठक स्थगन गरेसँगै सभामुख प्रक्रिया स्थगित भएको हो । यसअघि बिहीबारको बैठकमा मत विभाजनमा दुई जना उम्मेदवारमध्ये कसैले पनि बहुमतप्राप्त नगरेपछि आज विहान ११ बजेका लागि बैठक आह्वान गरिएको थियो । आज बिहानैदेखि बसेको सर्वदलीय बैठकमा पुनः मतदानका विषयमा सहमति जुट्न नसक्दा बैठक स्थगन गरिएको हो ।

प्रदेशसभामा निर्णायक शक्ति देखिएको नागरिक उन्मुक्ति पार्टीले आफ्नो भागमा तीन मन्त्रालय दिनेबारेमा लिखित सहमति नभएसम्म सभामुखको निर्वाचनमा भाग नलिने अडान लिएको छ । बिहीबारको बैठकमा ‘प्रदेशसभाको सभामुख पदमा निर्वाचित गरियोस्’ भन्ने छुट्टाछुट्टैरुपमा दुई प्रस्ताव पेश भएको थियो तर मत विभाजन गर्दा बहुमत सदस्य सङ्ख्या नपुगेपछि प्रस्ताव अस्वीकृत भएको थियो ।

सभामुख पदका लागि प्रदेशसभाका सदस्य नेपाली कांग्रेसका मानबहादुर रावल र नेकपा माओवादी केन्द्रका भीमबहादुर भण्डारी उम्मेदवार छन्। रावललाई सभामुख पदमा निर्वाचित गरियोस् भनी कांग्रेसका मेघराज खड्का प्रस्तावक र कांग्रेसकै पृथ्वीबहादुर सिंह समर्थक रहेको प्रस्तावमा ‘हुन्न’ भन्ने पक्षमा २७ मत र ‘हुन्छ’ भन्ने पक्षमा २३ मत परेको थियो ।

यसैगरी भण्डारीलाई सभामुख पदमा निर्वाचित गरियोस् भनी नेकपा एमालेकी जानकी ऐर बम प्रस्तावक र माओवादी केन्द्रीकी गीतादेवी माल समर्थक रहनुभएको अर्को प्रस्तावको ‘हुन्छ’ भन्ने पक्षमा २६ र ‘हुन्न’ भन्ने पक्षमा २३ मत परेको थियो ।

मत विभाजनमा ५० जनाले भाग लिएकोमा एक जनाको मत बदर भएको थियो । सभामुखमा निर्वाचित हुनका लागि २७ सदस्यको बहुमत आवश्यक पर्छ । मत विभाजनको प्रक्रियामा नागरिक उन्मुक्ति पार्टीका लक्ष्मणकिशोर चौधरी र सत्तापक्ष एमालेका चक्रबहादुर मल्ल अनुपस्थित रहेका थिए । भण्डारीको पक्षमा एमाले, माओवादी, राप्रपा र नागरिक उन्मुक्ति पार्टीका सदस्य र रावलको पक्षमा कांग्रेस, एकीकृत समाजवादी र एकजना स्वतन्त्र सदस्य थएि। प्रदेशसभाको पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख र उपसभामुखको निर्वाचन गरिसक्नुपर्ने संवैधानिक बाध्यता छ । यो अवधि पुग्न थोरै दिन बाँकी छ । त्रिपन्न सदस्यीय प्रदेशसभामा कांग्रेसका १९, एमालेका दश, माओवादी केन्द्रका ११, नेकपा एकीकृत समाजवादीका चार, राप्रपाका एक र एकजना स्वतन्त्र सदस्य छन् ।

संम्बन्धित समचार

Leave a Reply