पोखरामा अन्तर्राष्ट्रिय उडानको बाटो खुल्यो

Post Thumbnail

पौष ३०, काठमाडौँ । नेपालमा अन्तर्राष्ट्रिय विमानस्थल बनेको सात दशकपछि तेस्रो अन्तर्राष्ट्रिय विमानस्थल तयार भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले आफ्नो वेबसाइटमार्फत एरोनटिकल पब्लिकेसन इन्फर्मेसन एआईपी सार्वजनिक गरेसँगै राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको उक्त विमानस्थल औपचारिक रूपमै देशको तेस्रो सुविधासम्पन्न अन्तर्राष्ट्रिय विमानस्थल बनेको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको ७१ वर्षपछि गत जेठ २ गते दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको थियो । त्यसको १० महिनापछि पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल व्यावसायिक सञ्चालनमा आउन लागेको छ ।

हवाई रुट, धावनमार्ग, उडान व्यवस्थापन प्रणाली, नेभिगेसनसँगै विमानस्थलले प्रदान गर्ने सेवा–सुविधासहित विमानस्थलको समग्र अवस्थाबारे पूर्ण जानकारी समेटेर सार्वजनिक गरिएको प्रतिवेदनमा उल्लेख गरिएका तथ्याङ्कका आधारमा अबको ४२ दिनपछि पोखरामा अन्तर्राष्ट्रिय उडान–अवतरण हुनसक्ने नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले बताए ।

उनले भने, “प्राधिकरणले सार्वजनिक एआईपीकै आधारमा अन्तर्राष्ट्रिय हवाई कम्पनीहरूलाई आफ्ना जहाजमार्फत पोखरामा व्यावसायिक उडान भर्न ध्यानाकर्षण गराएको छ । एआईपीले पोखरामा उडान गर्न चाहने हवाई कम्पनीलाई अन्तर्राष्ट्रिय उडानको बाटो खोलेसँगै उडान अनुमतिको प्रक्रियामा सहजै आउने छन् ।” एआईपीमा उल्लेख गरिएका तथ्याङ्कका आधारमा हवाई कम्पनीहरूले आफ्नो जहाज पोखरामा उडान तथा अवतरण गर्न सक्ने नसक्नेबारे जानकारी पाउने उनको भनाइ छ ।

यान्त्रिक परीक्षण उडान क्यालिब्रेसन फ्लाइट सकेर यही पुस १७ गते उद्घाटन गरिएको विमानस्थलमा व्यावसायिक उडान सञ्चालनको तयारीसँगै नेपाली हवाई उड्डयनको इतिहासमा एउटा इँटा थपिएको उनले बताए । एरोनटिकल रेडियो अफ थाइल्यान्ड एरोथाईको विज्ञ टोलीले विमानस्थल प्राविधिक हिसाबले ठीक छ कि छैन भनी गरेको यान्त्रिक परीक्षण उडानको पूर्ण प्रतिवेदनका आधारमा तयार पारिएको प्रतिवेदनले पोखरामा फागुन दोस्रो सातादेखि व्यावसायिक अन्तर्राष्ट्रिय उडानको ढोका खोलेको हो ।

त्यहाँ एक पटकमा तीनवटा अन्तर्राष्ट्रिय विमान एवं ठूलासाना चार–चारवटा आन्तरिक सेवाका विमान पार्किङ गर्न सकिनेछ । आन्तरिकतर्फ दैनिक ४८ र अन्तर्राष्ट्रियतर्फ छ उडान तथा अवतरण गर्ने सुरुवाती तयारी अनुसार विमानस्थलबाट वार्षिक १० लाख हवाई यात्रुले सेवा लिनसक्ने प्राधिकरणले जनाएको छ । २५ सय मिटर लामो धावनमार्ग रहेको यो विमानस्थलमा एयरबस ए३२०, बोइङ ७३७–७०० सिरिज वा बोइङ ७५७–२०० जस्ता न्यारोबडी उडान–अवतरण गर्न सक्नेछन् ।

त्यसैगरी १४ हजार वर्ग मिटरको आन्तरिक र अन्तर्राष्ट्रिय टर्मिनल भवन रहेको यो विमानस्थलसँग व्यस्त समयमा प्रतिघण्टा ६१० जना यात्रु व्यवस्थापनको क्षमता रहेको छ । प्राविधिक हिसाबले समेत यो विमानस्थलमा जहाज उडान र अवतरणका साथै अन्य कार्य निर्देशित गर्न सहज, नयाँ कन्ट्रोल टावरसँग सम्बन्धित उपकरण परीक्षण गर्न, सञ्चार, धावनमार्गको एलाइन्मेन्ट, पार्किङ वेलगायत नयाँ संरचनाले हवाई उडानमा सहजता थपिने प्राधिकरणले जनाएको छ । यो खबर आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

ताजा अपडेट

खोजी गर्नुहोस