बाग्मतीमा मुख्यमन्त्रीले विश्वासको मत लिएपछि मन्त्रिपरिषद् विस्तार

पौष ३०, हेटौडा । बाग्मती प्रदेशका नवनिर्वाचित मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले विश्वासको मत लिएपछि मात्रै मन्त्रिपरिषद् विस्तार हुने भएको छ । आउँदो माघ ३ गते मुख्यमन्त्री जम्मकट्टेलले विश्वासको मत लिएपछि मात्रै मन्त्रिपरिषद् विस्तार हुने भएको हो ।

प्रदेशको चौथो मुख्यमन्त्रीमा नियुक्त भएका उनले विश्वासको मतका लागि तयारी गर्न प्रदेश सभा सचिवालयलाई आग्रह समेत गरेका छन् । मुख्यमन्त्रीले शपथ लिएकै दिनमा एमालेका संसदीय दलका नेता जगन्नाथ थपलियाले अर्थ मन्त्रालय र राप्रपाका संसदीय दलका नेता उद्धव थापालाई विनाविभागीय मन्त्री बनाएपछि यस प्रदेशमा मन्त्रिपरिषद् विस्तार भएको छैन । अरु सबै मन्त्रालय मुख्यमन्त्री जम्मकट्टेलसँगै छ ।

कुन दलले कति मन्त्रालय र कुन–कुन मन्त्रालय प्राप्त गर्ने भन्ने कुरामा छलफल गर्न बाँकी रहेको उनले बताए । यस प्रदेशमा एमालेले ५, माओवादीले ४, राप्रपा र समाजवादीले २२ र हाम्रो नेपाली पार्टीले १ मन्त्रालयको दाबी गरेका छन् । सत्तारूढ दलभित्र मन्त्रीको दाबी गर्नेको सङ्ख्या बढेपछि भागबन्डा मिलाउन सकस भएको छ । विगतमा दलहरूको भागबन्डा पुर्याउन धेरै मन्त्रालय राखेर बढाइएको खर्च कटौती गर्न मुख्यमन्त्रीले आफ्नो पहिलो निर्णयमा नै मन्त्रालय घटाउने घोषणा गरिसकेका छन् ।

जम्कट्टेल प्रदेश सभाको ५ दलको ७० सांसदको समर्थनमा मुख्यमन्त्री बनेका हुन् । उनलाई एमालेका २७, नेकपा माओवादी २१, राप्रपा १३, नेकपा एकीकृत समाजवादी ७ र हाम्रो नेपाली पार्टीको २ सांसदको समर्थन छ । ११० सदस्यीय प्रदेश सभामा ५६ मत भएको खण्डमा उनले सहजै विश्वासको मत प्राप्त गर्ने देखिन्छ ।

संम्बन्धित समचार

Leave a Reply