‘बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक विशेषताले भरिएको सुन्दर देश नेपाल हो’ : प्रधानमन्त्री प्रचण्ड

माघ १, काठमाण्डौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनेकतामा एकता र राष्ट्रिय स्वाभिमान हाम्रो साझा पहिचान भएको बताएका छन् । थारू र मगर समुदायको चाड माघी तथा माघेसङ्क्रान्ति मकर सङ्क्रान्तिको अवसरमा आइतबार शुभकामना सन्देश दिँदै उनले नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक विशेषताले भरिएको सुन्दर देश भएको स्पष्ट पारेका छन् ।

‘ नेपालका प्रत्येक जातजाति र धर्मावलम्बीहरूका आ–आफ्नै सांस्कृतिक महत्व बोकेका मौलिक चाडपर्वहरू रहेका छन् । यी चाडपर्वहरूले नयाँ उमंग र उत्साहका साथ एक आपसमा एकता तथा सद्भाव स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्दै आएका छन् । भौगोलिक, जातीय र सांस्कृतिक विविधता रहेको नेपालमा एकै दिन पर्ने र एउटै नामको पर्वलाई पनि भिन्न–भिन्न भेग र समुदायमा भिन्न–भिन्न ढंगले मनाउने प्रचलनसमेत रहेको छ’, प्रधानमन्त्रीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

माघ १ गते मनाइने माघी पर्वलाई थारू समुदायले माघी भनेर मनाउँछन् र नयाँ वर्ष मान्ने गर्छन् । मगर समुदायले पनि यसलाई आफ्नो मुख्य चाडका रूपमा मनाउँछन् । नेपालको समस्त भू–भाग, हिमाल, पहाड र तराईमा बसोबास गर्ने क्षेत्री, बाहुन, राई, मगर, लिम्बू, नेवार, गुरुङ आदि सबै जातजातिले यस पर्वलाई आ–आफ्नो परम्परा र विशेषताअनुसार मनाउँदै आएको पाइन्छ । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनपछि ताजा जनादेशको जगमा वर्तमान सरकार गठन भएको भन्दै प्रधानमन्त्री प्रचण्डले सरकारले सामाजिक न्याय, सुशासन र समृद्धिलाई प्रमुख लक्ष्य बनाएको बताए ।

उनले प्रतिनिधिसभाबाट अभूतपूर्व विश्वासको मत प्राप्त गरेको वर्तमान सरकार जनताको जीवनमा गुणात्मक परिवर्तन ल्याउने संकल्पका साथ अवस्था बदल्न दृढ संकल्पित रहेको दोहोर्‍याए। यस अवसरमा सम्पूर्ण नेपालीलाई सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्यमा हातेमालो गर्न र यस पर्वलाई राष्ट्रिय एकता, सद्भाव र सहकार्य थप बलियो बनाउने ऐतिहासिक अवसरमा रूपमा मनाउन हार्दिक अपील गर्दछु, उनले भनेका छन् । ‘यस पर्वले सम्पूर्ण नेपालीहरूको बीचमा सहकार्य, हार्दिकता, धार्मिक सहिष्णुता कायम गर्दै राष्ट्रिय एकता र राष्ट्रिय मौलिक संस्कृतिको निर्माणमा उर्जा प्रदान गर्ने अपेक्षा गर्दै सबै नेपालीलाई मुलुकको विकासमा एकताबद्ध हुन प्रेरणा मिलोस् भन्ने शुभकामना व्यक्त गर्दछु’, सन्देशमा भनिएको छ ।

संम्बन्धित समचार

Leave a Reply