समानुपातिक निर्वाचनमा एकीकृत समाजवादीको सबैभन्दा बढी खर्च

माघ ११, काठमाडौँ । प्रतिनिधि सभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ ‘थ्रेसहोल्ड’ कटाउन नसकेर समानुपातिक सिट पाउनबाट वञ्चित नेकपा एकीकृत समाजवादीले सो निर्वाचनमा सबैभन्दा बढी खर्च गरेको छ । आयोगले प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको समानुपातिकतर्फ राजनीतिक दलले गरेको खर्च विवरण बुझाउन माघ ३ गतेसम्मको समयसीमा तोकेको थियो ।

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले प्रतिनिधि सभा सदस्यको समानुपातिक निर्वाचन प्रणालीतर्फ बन्दसूची पेस गरेका ४७ वटै दलले खर्च विवरण बुझाएको बताउनुभयो । स्थानीय निर्वाचनमा खर्च विवरण नबुझाउने एक लाख २३ हजार उम्मेदवारलाई आयोगले कारबाहीको दायरामा ल्याएपछि राजनीतिक दलले समयसीमाभित्रै खर्च विवरण बुझाएका हुन् ।

आयोगमा बुझाइएको विवरणअनुसार नेकपा एकीकृत समाजवादीले समानुपातिकतर्फको निर्वाचन प्रचार प्रसारमा एक करोड ९० लाख ८९ हजार पाँच सय रुपियाँ खर्च गरेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले दोस्रो सबैभन्दा बढी खर्च गरेको छ । सो दलले १०६ सिटमा उम्मेदवारी दिएकोमा एक करोड ८९ लाख खर्च भएको विवरण आयोगमा बुझाएको छ । नेपाली कांग्रेसले एक करोड ५५ लाख ३२ हजार ५७८ रुपियाँ खर्च भएको विवरण बुझाएको हो ।

नेकपा एमालेले एक करोड ३३ लाख २६ हजार ६९३ रुपियाँ ४५ पैसा खर्च गरेको छ । आयोगका अनुसार समानुपातिकतर्फ सिट जितेर सबैभन्दा कम खर्च गरेको दल जनमत पार्टी हो । सो दलले बुझाएको विवरणबमोजिम उसले समानुपातिकतर्फ तीन लाख ८८ हजार रुपियाँ खर्च गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले ३६ लाख ८६ हजार २२५ रुपियाँ र जनता समाजवादी पार्टी, नेपालले ३५ लाख रुपियाँ खर्च भएको विवरण आयोगमा बुझाएको छ । यो खबर आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

संम्बन्धित समचार

Leave a Reply