सिंहदरबारबाटै शासनको नेतृत्व गर्छु : प्रधानमन्त्री प्रचण्ड

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ माघ १७, मंगलबार (१ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

माघ १७,काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो तेस्रो कार्यकालमा शासनको नेतृत्व सिंहदरबारबाटै गर्ने सोच बनाएको बताएका छन् । आज दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा प्रधानमन्त्री कार्यालय मातहतका निकाय र कार्यालयहरूको बैठकमा प्रधानमन्त्री प्रचण्डले यो कुरा बताएका छन् । उनले भने, ‘मैले सिंहदरबारलाई कार्य सञ्चालनको मुख्य थलोका रूपमा लिएको छु । विगतमा सिंहदरबारबाहिर वा निवासबाट शासन चलाउने काम भएको तितो अनुभूति तपाईँ हामी सबैसँग छ । यस पटक हामीले त्यो गल्ती दोहोर्‍याउनु हुँदैन । विशेष परिस्थितिमा बाहेक सिंहदरबारबाटै काम गर्ने सोचेको छु ।’

‘यस पटक सिंहदरबारबाटै शासनको नेतृत्व गर्ने सोचेको छु, यसको विशेष अर्थ छ’, प्रधानमन्त्रीले भने, ‘प्रधानमन्त्रीले सिंहदरबारबाट काम गर्नु भनेको राज्यका सबै अङ्गहरूको एकीकृत परिचालनको नेतृत्व गर्नु हो । राज्यका सबै अङ्गलाई जवाफदेही र उत्तरदायी बनाउनु पनि हो ।’

सम्बोधनका क्रममा प्रधानमन्त्री प्रचण्डले कर्मचारी संयन्त्रमा दण्ड र पुरस्कारको व्यवस्थालाई प्रभावकारीरूपमा लागू गरिने बताए । उनले भने, ‘मेरो प्रधानमन्त्रीत्व कालमा कार्यालयअन्तर्गत रहनुभएका कर्मचारीको ऊर्जा र सम्मानलाई जोड दिनेछु । तपाईँहरूले आफ्नो भूमिका गम्भीरपूर्वक खेल्नुस् । मैले पनि अभिभावकीय भूमिका खेल्छु । तपाईँहरूले सक्रियतापूर्वक भूमिका खेलेमा राम्रो परिणाम आउँछ । राम्रो काम गर्ने कर्मचारीलाई पुरस्कृत गरिनेछ । तपाईँहरू सबै पुरस्कृत हुन प्रतिस्पर्धा गर्नुस् ।’

निर्णय प्रक्रियामा सरलीकरण गरी छिटो छरितो कार्यसम्पादन गर्न निर्देशित गर्न प्रधानमन्त्री प्रचण्डले अनुरोध गरे । उनले भने, ‘मैले सचिवहरूलाई दिएको निर्देशनमा धेरै कुरा भनिसकेको छु । त्यसलाई तपाईँहरूले गम्भीरतापूर्वक लिनुभएको होला भन्ने विश्वास लिएको छु । मन्त्रिपरिषद्ले पूर्णता पाएको छ । तसर्थ हिजो बनेको कार्ययोजनामाथि सामूहिक छलफल गर्नुछ । अब मन्त्री र सचिवहरूसमेत राखेर फेरि छलफल गर्नुपर्ने आवश्यकता महसुस भएको छ । दुई÷तीन दिन राम्रोसँग छलफल गरेर काममा गति दिने सोचेका छौँ ।’

बैठकमा प्रधानमन्त्री प्रचण्डले देशमा उच्चस्तरीय प्रशासन सुधार आवश्यक भएको बताए । उनले भने, ‘उच्चस्तरीय प्रशासन सुधार कार्यदल बनाउने कुरामा मेरो ध्यान गएको छ । अनावश्यक कार्यालय हटाउने, दोहोरो कार्यबोझ हटाउने, अनावश्यक कर्मचारी र खर्च घटाएर प्रशासनयन्त्र र सेवा प्रवाहलाई चुस्त बनाउन आवश्यक छ ।’

साइबर सुरक्षा कसरी गर्ने, एकीकृत डाटा प्रणाली कसरी व्यवस्थित गर्ने, सूचना प्रणालीलाई कसरी एकीकृत र प्रभावकारी बनाउने भन्नेमा सरकार रहेको उनले बताए ।

बैठकमा बोल्दै सरकारका मुख्य सचिव शङ्करदास बैरागीले प्रधानमन्त्रीको सक्रियताले आफूहरूमा काम गर्ने ऊर्जा प्राप्त भएको बताए । उनले भने, ‘हामीले कागजमा उल्लेख गरेका विषयहरू परिणाममा देखिनुपर्छ भन्नेमा तपाईँ हामी सचेत हुनुपर्छ । प्रधानमन्त्रीज्यूले काम गर्ने राम्रो वातावरण बनाउनुभएको छ । यो हामी सबैका लागि राम्रो अवसर हो । प्रधानमन्त्रीज्यू यस पटक केही गरेर छोडौँ भन्नेमा हुनुहुन्छ । त्यसले हामीलाई पनि ऊर्जा दिएको छ । त्यसका लागि हामी सबैको पनि उच्च मनोबलका साथ क्रियाशीलताको खाँचो छ ।’

बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहतका १२ वटा निकाय तथा कार्यालयका प्रमुखहरूले आ–आफ्नो निकाय र कार्यालयहरूको कार्यादेश, नीतिगत र संरचनागत स्थिति, प्राप्त उपलब्धि, सीमा, समस्या र सरकारसँग गरिएको अपेक्षाबारे सङ्क्षेपमा बिफ्रिङ गरेका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस