अघिल्लो सरकारले ल्याएको बजेटको आकार अर्थमन्त्री पौडेलले घटाउने

माघ २०, काठमाडौँ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अघिल्लो सरकारले ल्याएको चालू आर्थिक वर्ष आव २०७९र८० को बजेटको आकार घटाउने तयारी थालेका छन् । तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले ल्याएको चुनावलक्षित बजेट पूर्णरूपमा कार्यान्वयनमा जान नसक्ने निष्कर्ष निकाल्दै त्यसलाई संशोधन गर्ने तयारीमा पौडेल लागेका हुन् ।

अर्थ मन्त्रालयले छिट्टै चालू आवको बजेटको अर्धवार्षिक समीक्षा गर्दै छ । माघभित्रै अर्धवार्षिक समीक्षा हुने र सोही बेला बजेट संशोधनको तयारी भएको अर्थमन्त्री निकट स्रोतले बतायो । ‘विगतमा पनि बजेटको आकारदेखि लक्ष्यसम्म पुनरवलोकन गरिएको थियो, अहिले पनि घटाइँदै छ,’ स्रोतले भन्यो । यस आवको मङ्सिरमा चुनाव थियो ।

चुनावका कारण चालू बजेट अधिकतम खर्च भए पनि विकास बजेट खर्च हुन सकेको छैन । सरकारले ल्याएको पूँजीगततर्फको बजेटमध्ये अहिलेसम्म १६ दशमलव १३ प्रतिशत मात्रै खर्च भएको छ । त्यसो त आगामी वर्षको बजेटसमेत अहिलेको भन्दा कम आकारको ल्याउन सरकारलाई योजना आयोगले सिफारिश गरेको छ । सोहीअनुसार अधिकारीहरूले बजेट बनाउन थालिसकेका छन् । आगामी बजेट घट्ने अर्थमन्त्री पौडेलले समेत बताएका छन् । बुधवार राजधानीमा भएको एक कार्यक्रममा मन्त्री पौडेलले बजेटको आकार तय गर्दा विगतकै अभ्यास नदोहोर्‍याउने बताए । ‘ठूलो आकारको बजेट ल्याउने विगतको अभ्यास छ । तर, हामी त्यस्तो पक्षमा छैनौं । अर्थतन्त्रको संरचनागत परिवर्तन गर्नेमा हाम्रो जोड रहनेछ,’ उनले भनेका छन् ।

विगतदेखि नै बजेट ठूलो आकारको ल्याउने तर कार्यान्वयन कमजोर हुँदा सरकारी अधिकारीको क्षमतामा प्रश्न उठाउने गरिएको छ । मध्यकालीन खर्च संरचनाअनुसार आगामी वर्ष १९ खर्बको बजेट सरकारले ल्याउनुपर्ने हो तर त्यसअनुसार बजेट बनाउन राष्ट्रिय योजना आयोगले अनुमति दिएको छैन । यो समाचार आर्थिक अभियान दैनिकमा छ ।

संम्बन्धित समचार

Leave a Reply