पर्यटनमन्त्री किरातीद्धारा गौतमबुद्ध विमानस्थलको निरिक्षण

माघ २२,काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा रोकिएको उडान पुनः सञ्चालन र नियमित गराउने सन्दर्भमा चासो राखेका छन् । आज बिहान विमानस्थल निरीक्षणपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै मन्त्री किरातीले गौतमबुद्ध विमानस्थलबाट तत्काल नेपाल एयरलाइन्सको जहाज सञ्चालन गर्न पहल गर्ने बताएका हुन् ।

अहिले रोकिएको उडान सुचारु गर्न नेपाल एयरलाइन्सको विमान ल्याउनुपर्ने विषय उठेकाले तत्काल पहल थाल्ने उनको भनाई छ । उनले विमानस्थलमा नियमित उडानका लागि उच्चस्तरीय तहका साथै कूटनीतिक र मन्त्रालय स्तरबाट प्राविधिक समस्या हल गर्ने प्रतिबद्धता जनाए । उनले विमानस्थलमा रोकिएको उडान नियमित गराउन भारतसँग रुटका लागि प्रधानमन्त्री तहबाट कूटनीतिक पहल गर्ने भन्दै मन्त्री किराँतीले प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणमा गौतमबुद्ध विमानस्थलको रुटको एजेन्डा राख्ने बताए ।

निरीक्षण अघि विमानस्थलको अवस्थाका बारेमा गरिएको ब्रिफ्रिङमा विमानस्थल सञ्चालनका लागि कुनै कसर बाँकी नराख्न मन्त्री किरातीले निर्देशन दिएका थिए । उनले विमानस्थल देशको अनुहार भएकाले गौतमबुद्ध विमानस्थल सफा राख्न आग्रह गरे । उक्त अवसरमा पर्यटन मन्त्रालयका सचिव सुरेश अधिकारीले कार्यालयहरूबीच समन्वय गरेर अगाडि बढ्दा धेरै समस्या हल हुने सुझाएका थिए । मन्त्री किराती समक्ष विमानस्थलका महाप्रबन्धक गोविन्दप्रसाद दाहालले रुटका कारणले भारतीय आकाश प्रयोग गर्न नपाउँदा उडान रोकिएको बताउँदै सञ्चालनका लागि निजी क्षेत्र, स्थानीय सरकार र प्रदेश सरकारसँग पनि छलफल गरिएको बताए । मन्त्री किराँतीले टर्मिनल भवन, टावर, पार्किङ, विशिष्ट कक्ष, धावनमार्गको निरीक्षण गरेको जनाएको छ ।

संम्बन्धित समचार

Leave a Reply