कविता- अपूर्ण मानिसको पूर्ण स्वभाव

  • अनलाइन केन्द्र
  • / साहित्य /
  • २०७५ पौष २५, बुधबार (६ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

जिन्दगी
एक पुष्प झैँ त रहेछ
फक्र्यो
फुल्यो
मुस्कुरायो
अनि एक दिन ओइलाई झर्यो ।

जिन्दगी
एक डालीको अवयव झैं त रहेछ
क्रमैसङ्ग उकुस्-मुकुस् गर्दै फुत्त निस्क्यो
बढ्यो/हुर्क्यो/ जवान भयो
अनि साँझको उत्तरको सगरमाथा पहेंलिए झैं
पहेंलिएर आफ्नै तनबाट
हेलिकप्टरको पंखानाचे झैँ
फेंद खस्नै पर्दो रहेछ ।

जिन्दगी
एक शिशु घाम झैं त रहेछ
बिहानीको शिशु बालख झैं
पूर्व क्षितिजबाट जन्म्यो
हुर्क्यो/बढ्यो/ जवान भयो
अनि पुन : नित्य पश्चिम क्षितिजको
संन्ध्या घाटको चितिकामा आफूलाई समाहित गर्दै
रजनीको गर्भमा सिरानी लगाई
निदाउनै पर्दो रहेछ ।

जिन्दगी
एक शैलको भूस्खलन झैं त रहेछ
झम्झमे झरिमा भिज्यो/गल्यो
अनि गर्ल्याम्म ढल्यो
पुन : उठेर सोही भित्तोमा ठिङ्ग उभिन
भने कहिल्यै न सकिंदो रहेछ ।

अनि त
सकियो सारा मायामोह लोभलाभ
र पनि सिङ् झरेको माले गोरूले झैं
आली भने भत्काएर आफू भन्दा बलिष्ठ गोरूलाई
धम्की भने दिनै पर्ने रहेछ ।

यो चाँहि रहेछ अपूर्ण
मानिसको पूर्ण स्वभाव ।

-राजबाबु श्रेष्ठ ‘सागर’

ताजा अपडेट

खोजी गर्नुहोस