परिवर्तन देवकोटा :
पौष २६, काठमाडौं । सडक विभागले अहिले सडक सुरक्षाका लागि भन्दै सडकमा थर्मो प्लास्टिक रोड मार्किङ्ग–पेन्ट गर्ने योजना बनाएको छ । तर, त्यसकालागि आवस्यक बजेट व्यवस्था नभएकाले थप ५ करोड रुपैयाँ अर्थमन्त्रालयसँग माग गरिएको हो ।
सडक विभाग अन्तर्गतको सडक सुरक्षा तथा ट्राफिक शाखाका सिनियर डिभिजनल इन्जिनियर दीप बाराहीका अनुसार यस विषयमा सडक विभाग र अर्थ मन्त्रालयबीच अहिले छलफल भैरहेको छ । थप कामका लागि ५ करोड रुपैयाँ माग गरिएको समेत उनले बताए ।
विभागले अहिले सिंहदरबार, बागबजार, कालिमाटी, तिनकुने, मित्रपार्क, पद्मोदयमोड, थापाथली, गौशाला र पुरानो बानेश्वरमा ट्राफिक लाइट जोड्ने काम गरिरहेको इन्जिनियर बाराहीले मेरोअटोलाई बताए ।
उनकाअनुसार बजेट स्वीकृत हुनेवित्तिकै विभागले थप काम सुरु गर्नेछ । यसै आर्थिक वर्ष (आव २०७५–०७६) भित्रमा सक्ने गरी विभागले थप काम गर्न लागेको हो । थप कामअन्तर्गत विभागले उपत्यकाभित्रका सबै सडकहरूमा जेब्राक्रस राख्ने, सेन्टर तथा मार्र्किङ्ग–लाइन राख्ने, ट्राफिक चिह्न तथा ट्राफिक लाइटहरू सबैजसो चोकहरूमा राख्ने कामहरू गर्नेछ ।
ट्राफिक लाईट धमाधम
अबको केही महिनाभित्रैमा उपत्यकाभित्रका सबै चोकहरूमा ट्राफिक लाइट झलमल्ल बल्ने भएको छ । सडक विभागअन्तर्गतको सडक सुरक्षा तथा ट्राफिक शाखाले अहिले उपत्यकाका मुख्य चोकहरूमा ट्राफिक लाइट जडान गर्ने काम धमाधम भैरहेको जानकारी दिएको छ ।
विभागले अहिले सिंहदरबार, बागबजार, कालिमाटी, तिनकुने, मित्रपार्क, पद्मोदयमोड, थापाथली, गौशाला र पुरानो बानेश्वरमा ट्राफिक लाइट जोड्ने काम गरिरहेको इन्जिनियर बाराहीले मेरोअटोलाई बताए ।
प्रजिल कन्स्ट्रक्सनले चार महिनामा सबै चोकमा काम सक्ने गरी अहिले काम गरिरहेको उनले जानकारी दिए । नयाँ वर्षबाटै उपत्यकाका सबैजसो चोकहरूमा ट्राफिक लाइट बल्छन्, उनको दावी थियो ।