मुख्यमन्त्री गिरीले भने, ‘प्रदेश सरकार फेरबदल हुँदैन’

फागुन १५,काठमाडौँ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले संसदीय व्यवस्थाको मर्मअनुसार प्रदेश सरकार अगाडि बढ्ने बताएका छन् । नेकपा एमालेको ‘मिसन ग्रास रुट’ अभियानअन्तर्गत लमही नगरस्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री गिरीले भने, ‘प्रदेश सरकार फेरबदल हुँदैन । हामी संसदीय व्यवस्थाको मर्मअनुसार अगाडि बढ्छौँ ।’

प्रदेश सभाको ठूलो दलको हैसियतले सबै दलको सहमति र सहकार्यअन्तर्गत एमाले अगाडि बढ्ने बताउँदै मुख्यमन्त्री गिरीले भने, ‘अहिलेसम्म सङ्घीय सरकारमा देखिएको समस्या प्रदेश सरकारमा देखिएको छैन । सत्ता साझेदार दलसँगको आपसी समझदारीअनुसार अगाडि बढिरहेका छौँ । प्रदेश सभामा रहेका सबै दलसँग सहकार्य गरी अगाडि बढ्छौँ ।’

केन्द्रीय सरकारमा देखिएको समस्याले वामपन्थी आन्दोलनलाई कमजोर बनाएको भन्दै मुख्यमन्त्री गिरीले देशीरविदेशी शक्तिकेन्द्रको प्रभावमा परेर परिवर्तन विरोधी काम हुन थालेको बताए । ‘एमाले–माओवादीबीचको गठबन्धन टुट्नु वामपन्थी आन्दोलनमाथिको कुठाराघात हो । यसले वामपन्थी आन्दोलन थप पछाडि ढकेलिने खतरा बढ्यो । विदेशीको इसारामा परिवर्तन विरोधी गतिविधि सञ्चालन भइरहेका छन् । यसले देश थप सङ्कटग्रस्त बन्छ ।’

नेपाली नागरिकको लामो सङ्घर्षपछि राजनीतिक आन्दोलनमा सफलता प्राप्त गरे पनि विकास र समृद्धिको आन्दोलनमा विजय हासिल गर्न बाँकी रहेको भन्दै मुख्यमन्त्री गिरीले पार्टीलाई नागरिकसँग जोडेर जनमतको बलमा समृद्धिको आन्दोलनमा सफलता हासिल गर्ने बताए । नागरिकको माया, ममता र सद्भावबाट हुर्किएको नेकपा एमाले नागरिकको बीचबाट टाढा हुन जान थालेपछि नागरिकसँग पार्टीलाई जोड्न ‘मिसन ग्रास रुट’ अभियान सञ्चालन गरेको मुख्यमन्त्री गिरीको भनाइ थियो ।

संम्बन्धित समचार

Leave a Reply