जेठ २६,काठमाडौँ । उपत्यकाका नदी र चक्रपथ सफाइ गरी ३३ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ ।
वाग्मती सफाइ महाभियानको २६५ औँ हप्तामा बानेश्वर क्याम्पसअघिको नदी क्षेत्रमा सफाइ गरी छ मेट्रिक टन फोहर व्यवस्थापन भयो । सफाइमा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, न्यानो स्पर्श, मुक्तिनाथ विकास बैंक, रेयुकाइ, ठकुरी समाजलगायत संस्थाका गरी ३०० भन्दा बढी अभियन्ताको सहभागिता रहेको अभियानकर्मी माला खरेलले जानकारी दिए ।
वाग्मती सफाइमा ब्लु क्रस अस्पतालले एम्बुलेन्ससहित स्वास्थ्यकर्मीको समूह पनि परिचालन गर्दै आएको छ । आजको सफाइमा पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक एवं सफाइ अभियन्ता विज्ञानराज शर्माको २५ औँ वैवाहिक उत्सवका अवसरमा नदी किनारमा अम्बा, समी, बोझो, विभिन्न जातका फूल गरी २५ वटै वृक्षरोपण गरियो ।
सफाइका क्रममा जन्मदिन र वैवाहिक उत्सव पर्ने अभियन्ताको उत्सव यसरी मनाउन शुरु गरिएको अधिकार सम्पन्न वाग्मती समिति सञ्चालक सदस्य खरेलले बताए ।
गुह्येश्वरीमाथिको वाग्मती सफाइ अभियानको २२६ औँ हप्ताको कार्यक्रम गोकर्णेश्वर नगरपालिका–१ स्थित सुन्दरीजल क्षेत्रको नदी किनारमा सफाइ गरियो । सफाइमा वडा कार्यालयले विशेष सक्रियता देखाएको थियो ।
सफाइबाट दुई मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अभियन्ता उत्तम पुडासैनीले जानकारी दिए । नकुहिने फोहर गोकर्णेश्वर नगरपालिकाले व्यवस्थापन गर्ने गरी नदी किनारमा थुपारियो । कुहिने फोहर खाडल खनेर पुरियो ।