नामाकरण भएको खुसियालीमा कोशी प्रदेश सरकारले आज सार्वजनिक बिदा

फागुन १८,काठमाडौँ । नामाकरण भएको खुसियालीमा कोशी प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ ।

प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव उमेश बस्नेतले विज्ञप्ति निकालेर आज प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिनुभएको हो । प्रदेश सभाको हिजोको बैठकको दुई तिहाइ बहुमतले प्रदेशको नाम कोशी नामाकरण गरेको हो ।

प्रदेशको नाम कोशी राख्न एमालेका सांसद रामबहादुर मगरले प्रस्ताव गरेका थिए । त्यो प्रस्तावमा मत विभाजन हुँदा पक्षमा ८२, विपक्षमा चार मत परेको थियो । मतदान प्रक्रियामा ६ जना सांसद अनुपस्थित थिए ।

कोशी प्रदेश सभामा ९३ जना सांसद छन् । जसमा एमालेका ४०, कांग्रेसका २९, माओवादीका १३, राप्रपाका छ, नेकपा एकीकृत समाजवादीका चार र जसपाका एक जना सांसद छन् ।

यसैबीच, नामाकरणबारे पहिचान पक्षधर र भूगोल पक्षधरको चर्को दबाब नपरोस् र आन्दोलन पनि नहोस् भनेर विराटनगरमा निषेधाज्ञा लागू गरिएको छ ।

विराटनगरमा हिजोदेखि नै सुरक्षा व्यवस्था कडा परिएको छ । हिजो दिउँसो प्रदेश सभा भवन अगाडि प्रदर्शनसमेत भएको थियो ।

सम्भावित अवस्थालाई मध्यनजर गर्दै विराटनगरमा दिउँसो ३ बजेदेखि अर्को आदेश नभएसम्म निषेधाज्ञा लागू गरिएको जिल्ला प्रशासन कार्यालय मोरङका प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले जानकारी दिए ।

देवकोटा चोकदेखि कोशी अस्पताल चोकसम्म, जिल्ला प्रशासन कार्यालय वरपर, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र मुख्यमन्त्रीको निवास वरपर अर्को आदेश नभएसम्मका लागि कुनै किसिमका सभा, जुलस, भेला, र्‍याली, धर्ना जस्ता कार्यहरु गर्न निषेध गरिएको छ ।

आदेश उल्लंघन गरी सभा, जुलुस लगायतका काम गरे प्रचलित कानुन बमोजिम कारबाही गरिने जिल्ला प्रशासन कार्यालयको चेतावनी छ ।

संम्बन्धित समचार

Leave a Reply