ठमेलमा पर्यटकको चहलपहलसँगै व्यवसायी उत्साहित

फागुन २०, काठमाडौँ । सङ्घीय राजधानी काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेललगायत नेपालका विभिन्न क्षेत्रमा पर्यटकको चहलपहल र आगमन बढ्न थालेको छ। कोरोना महामारीबाट थला परेको ठमेललगायत देशभरका पर्यटकीय गन्तव्यमा विस्तारै पर्यटकीय चहलपहल बढ्न थालेको हो ।

अहिले काठमाडौँको ठमेल क्षेत्रमा विस्तारै विदेशी पर्यटक देखिन थालेका छन् । ठमेल क्षेत्रका सडकमा व्यवसायी देखिन थालेसँगै लामो समयदेखि तनावमा रहेका पर्यटन व्यवसायीमा आशा जाग्न थालेको छ ।

ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल टानका अध्यक्ष निलहरि बाँस्तोला पर्यटन आवागमनसँगै नेपालको पर्यटन उद्योगमा केही आशा पलाएको बताउँछन् ।

“लामो समय कोरोना महामारीबाट थलिएको नेपालको पर्यटन क्षेत्रमा पर्यटक आएसँगै खुसी छाएको छ”, उनले भने। विश्व सम्पदा सूचीमा रहेका नेपालका पर्यटकीय क्षेत्रलाई व्यवस्थित गरेर जतिसक्दो पर्यटक भित्र्याएर राज्यले फाइदा लिनुपर्ने उनको भनाइ छ।

ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष भविश्वर शर्मा अहिले ठमेलमा विदेशी पर्यटक बढ्न थालेको बताउँछन्। “ठमेलका भित्री गल्लीमा विस्तारै विदेशी पर्यटक देख्न थालिएको छ”, उनले भने। ठमेलमा ८० प्रतिशत व्यापार बाह्य पर्यटकबाट र २० प्रतिशत व्यापार आन्तरिक पर्यटकबाट हुने गरेको छ। ठमेल क्षेत्रमा एक हजारभन्दा बढी होटल रहेका छन्।

ठमेलको चारतारे होटल रमदा इन्कोरका सञ्चालक गोपाल पङ्गेनी पर्यटन मौसम सुरु भएसँगै आफ्नो होटलमा बुकिङ गर्ने पर्यटकको संख्या बढेको बताउँछन्। अङ्ग्रेजी पात्रोअनुसार मार्च, अप्रिल र मे महिनालाई नेपालमा पर्यटकीय मौसमका रूपमा लिने गरिन्छ।

काठमाडौँ महानगरपालिका १६ ठमेलमा ९२ कोठासहित सञ्चालनमा रहेको रमदा होटलमा मार्चमा ७० प्रतिशत, अप्रिल र मेमा ९० प्रतिशत कोठा बुकिङ भएका छन्। सोही होटलका महाप्रबन्धक महेश फुँयाल ठमेलमा पर्यटकीय गतिविधि विस्तारै बढ्दै गएको बताउँछन् । “एक महिना पहिलेभन्दा अहिले होटलमा आउने स्वदेशी तथा विदेशी पाहुना बढेका छन्”, उनले भने। अब विस्तारै नेपालको पर्यटन क्षेत्रले गति लिने उनको अपेक्षा छ ।

संम्बन्धित समचार

Leave a Reply