पुस २९,काठमाडौँ । जनता बैंक नेपाल लिमिटेडको नवौं वार्षिक साधारणसभा आज सञ्चालक समितिका अध्यक्ष केशवबहादुर रायमाझीको अध्यक्षतामा काठमाडौमा सम्पन्न भएको छ ।
नवौँ वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७४/७५ सम्मको सञ्चित मुनाफा समेतको रकमबाट शेयरधनीहरुलाई ६८ करोड, ६६ हजार ८ सय ३ रुपैया २५ पैसा बराबर अर्थात चुक्ता पूँजीको ८.५० प्रतिशत नगद लाभाँश वितरण गर्ने प्रस्ताव गरिएको वासलात र नाफा–नोक्सान हिसाव सहितको वित्तिय विवरणहरु स्वीकृत गरेको छ ।
सो सभाबाट सञ्चालक समितिको प्रतिवेदन स्वीकृत गर्नुका साथै, सञ्चालक समिति स्तरिय लेखापरिक्षण समितिको सिफारिसमा आर्थिक बर्ष २०७५/०७६ को लागि बाह्य लेखा परिक्षकमा SAR Associates, Chartered Accountants नियुक्त गर्ने निर्णय गरेको छ ।
सभाले सम्बन्धित निकायको स्वीकृतिमा बैक आफै वा सहायक कम्पनी मार्फत शेयर ब्रोकरेज सम्बन्धि कार्य गर्ने ब्यवस्था प्रवन्धपत्रमा थप गर्न स्वीकृत गर्नुका साथै, बैक र अन्य उपयुक्त बैक र वित्तीय संस्था एक आपसमा गाभ्न/गाभिन (मर्जर) वा स्वदेशी विदेशी रणनीतिक साझेदारीमा जानका लागि आवश्यक अख्तियारी सञ्चालक समितिलाई प्रदान गरेको छ ।
नवौ वार्षिक साधारण सभाको मितिसम्म आईपुग्दा बैकको निक्षेप संकलन रु. ६८ अर्ब र कर्जा लागानी रु. ६३ अर्ब पुगेको छ । बैकको पूर्व मेची देखी पश्चिम महाकालीसम्म १२९ शाखा, ५० शाखा रहित बैकिङ केन्द्र , ७९ एटीएम सञ्चालनमा रहेको छ । बैकले चालु आर्थिक बर्षको प्रथम त्रैमासमा रु. ३२ करोड (एनएफआरएस बमोजिम) मुनाफा आर्जन गर्न सफल भएको छ ।