पौष २९, हेटौंडा । पुल निर्माणका लागि स्वीस सरकारले प्रदेश ३ सरकारलाई सहयोग गर्ने भएको छ ।
प्रदेश सरकारबाट निर्माण हुने स्थानीय सडकको मोटर जाने पुल निर्माणका लागि आवश्यक प्राविधिक सहयोग गर्न प्रदेशको भौतिक मन्त्रालय र लोकल ब्रिज रोड प्रोग्राम (एलआरबीपी) को टोलीबीच आइतबार हस्ताक्षर भएको छ ।
मुख्यमन्त्री डोरमणि पौडेलको उपस्थितिमा भौतिक पूर्वाधार बिकास मन्त्रालयका सचिव कौशलकिशोर झा र एलआरबीपीका टोली नेता बेह्नम दलीलीबीच सम्झौता पत्र आदान प्रदान गरीएको छ ।
नेपाल सरकार र स्वीस सरकारबीच नेपाल सरकारलाई विभिन्न सहयोग गर्ने सम्झौता भएअनुरुप स्वीस सरकारले प्रदेशलाई पनि सहयोग गर्न लागेको हो ।
पुल निर्माण गर्न सुरु गर्दादेखि सम्पन्न हुने समयसम्मको प्राविधिक खर्च पनि स्वीस सरकारले नै व्यहोर्ने टोलीका उपनेता शकिल मानन्धरले बताए । पुलको डिजाइन, सर्वे, रिपोर्ट तयार, जाँच तथा अनुगमन सबै एलआरबीपीले नै गर्ने उनले जानकारी दिए ।