जिल्ला-नगरको एजेण्डा स्थापित गर्न उपाध्यक्षमा मेरो उम्मेदवारी: सुमार्गी

नेपाल उद्योग बाणिज्य महासंघको आगामी चैत्र २८ र २९ गते हुने ५७ औँ बार्षिक साधारण सभा तथा आसन्न निर्वाचनको सरगर्मी सुरु भएको छ । आगामी निर्वाचनको लागि ४ जना बरिष्ठ उपाध्यक्षको लागि उम्मेदवार बन्ने तयारी गरेका छन् । महासंघको विधान अनुसार बरिष्ठ उपाध्यक्ष स्वत अध्यक्ष हुने व्यवस्था रहेको छ । त्यसैगरी चारैजनाले आफ्नो समहुमा विषयगत उपाध्यक्षहरुको टुङ्गो लगाउने कसरत गरिरहेका छन् ।

बरिष्ठ उपाध्यक्षका उम्मेदवार अन्जन श्रेष्ठले आफ्नो टिममा जिल्लानगरतर्फको उपाध्यक्षको लागि अरुणराज सुमार्गीलाई सारथी बनाएका छन् । अरुणराज सुमार्गी हाल महासंघको केन्द्रिय सदस्य तथा कृषि उद्यम केन्द्रका सभापति रहेका छन् । उनले आफ्नो उम्मेदवारीलाई लिएर देश दौडाहालाई तिव्र पारेका छन् । भर्खरै मात्र पुर्वी पहाडी तथा मधेसी जिल्लाहरुको भ्रमण सकेर काठमाडौँ आएका सुमार्गीसंग अनलाईन केन्द्रका राज ढुंगानाले गरेको कुराकानीको सारसंक्षेप

निर्वाचन नजिकिएको छ, जिल्ला नगरको सबैभन्दा धेरै मतभार पनि छ, पुर्वी जिल्लाहरुको भ्रमण गरेर आएपछि अहिलेसम्म कस्तो प्रतिक्रिया पाउनुभएको छ ?

साथीहरुसँगको भेटघाट र छलफलमा गरेका कुराकानी हेर्दा धेरैको सहयोग र समर्थन मलाई छ । अत्यधिक मतान्तरले चुनाव जितिन्छ भन्नेमा म विश्वस्त छु ।
यो टिम सफल टिम हो, भोलि महासंघलाई सही नेतृत्व दिन सकिन्छ भन्ने खालको उहाहँहरुको सोच भएकाले, साथीहरुको पूर्ण समर्थन पनि हामीप्रति देखिएको जानकारी गराउन चाहन्छु ।

जिल्ला नगरमा तपाईंकै आवश्यकता किन ?

महासंघको इतिहासमा जिल्ला नगरको आएको व्यक्ति उपाध्यक्ष भएको पनि छैन । प्रमोदजी (प्रमोद श्रेष्ठ) हो । उहाँ छोटो समयमा नै आउट हुनुभयो । जहिले पनि बाहिरबाट उपाध्यक्ष हुने परम्परा चल्यो । मेरो महासंघको यात्रा १५ वर्ष भयो । जिल्ला नगरमा पनि मैले सात वर्ष बसेर काम गरें । २० वर्षको व्यावसायिक र १५ वर्षको महासंघको यात्रामा मैले मेची–महाकालीका सबै जिल्ला चेम्बरमा गएको छु । सबैको भावना बुझेको छु । सबैको पीडा मलाई थाहा छ । साना, मझौला, ठूला सबैका कुरा मैले बुझेको छु । त्यसका आधारमा साथीहरुले विश्वास गरेर मलाई उम्मेद्वारी दिनुपर्छ भनेकाले मैले उम्मेद्वारी दिएको हुँ । त्यसैका आधारमा मलाई सहयोग पनि गर्नुहुन्छ । निर्वाचन हो, सहमतिको प्रकिया पनि गरियो होला । निर्वाचनमा जहिले पनि दुई पक्षीय हुन्छ नै । त्यसमा पनि महासंघ छाता संगठन हो ।

महासंघलाई सही किसिमले लिएर जानसक्ने व्यक्ति म भएकाले उपाध्यक्षमा उठ्न भनेका छन् र म पनि उठ्ने छु । विगत १५ वर्षलाई हेरे हुन्छ । जिल्लाका साथीहरुको पनि कुरा बुझे हुन्छ । जिल्लाको आवाज कसले बोल्यो खोजे हुन्छ, आज फेसबुकमा, ह्वाट्सएपमा बोल्दैमा समस्या समाधान हुने होइन । तर, फिल्डमा कसले काम गरेको छ, हेर्नुपर्‍यो । जिल्लाका साथीहरुलाई १५ वर्षको इतिहास सोधे हुन्छ । मैले के गरें, के गरिनँ  ? भन्ने सबै साथीहरुले मूल्यांकन गर्नुभएको छ । समस्या ९० प्रतिशत् जिल्लामा नै हुन्छ । त्यो समस्यासँग म जानकार छु । किनभने म जिल्लाबाट आएको व्यक्ति हुँ । मेरो जिल्लामा भूमिका छ ।

तपाईं जिल्ला नगरबाट प्रतिनिधित्व पाउँदा के नयाँ स्वाद पाउँछन् त व्यवसायीले ?

जिल्ला नगरका साथीहरुलाई एक वर्षभित्र केही नयाँ आभास दिने गरी काम गर्छु । हामीले तीन वर्षे एजेण्डा पनि बनाएका छौं । महासंघकाको विधानले ५० प्रतिशत् जुन अधिकार दिएको छ, त्यस अधिकारलाई स्थापित गर्ने काम मबाट हुनेछ । महासंघमा केन्द्रीय सदस्यको पनि स्वागत सम्मान छैन । सचिवालय पनि छैन ।

हालको अवस्थामा जिल्ला/नगर परिषद्लाई एक्टिभ बनाउँदै महासंघलाई जिल्ला नगर परिषद्मा साधारण सदस्य किन नहोस्, किराना पसलकै गुनासो किन नहोस्, समस्या सम्बोधन गर्ने प्रयास म गर्नेछु । सफल र सक्षम सचिवालय राखेर मैले नै निगरानी गर्ने गरी तत्काल जिल्लालाई आभास हुने खालको कार्यक्रम दिन्छु । हाल धेरै जिल्लामा कर्मचारीलाई पनि पैसा तिर्नसक्ने अवस्था छैन । जिल्ला सक्षम बनाउनका लागि पनि हामीले अन्य स्रोत पनि परिचालन गर्नुपर्ने अवस्था छ । सुदृढ र सवल सचिवालय बनाएर काम गरेर देखाउनेछु ।

चुनावी प्रक्रियाले नयाँ नेतृत्वलाई आउँदा दिन त्यति सहज छैन । विश्व अर्थतन्त्रले शताब्दीयताकै सबभन्दा ठूलो आर्थिक महामन्दी झेलिरहेको बेलामा उत्पादनमूलक, व्यापार, पर्यटनलगायत निजी संस्थालाई चलायमान बनाउनुपर्ने चुनौतीलाई तपाईले कसरी सम्बोधन गर्नुहुन्छ ?

विशेषतः यो संकटमा परेका जिल्ला तथा नगर क्षेत्रका साना तथा मझौला उद्यमी व्यवसायीले महासंघले आफ्नो पक्षमा लबिङ बलियो बनाउला भन्ने अपेक्षा गरिरहेका छन् । महासंघले जहिल्यै आफ्नो हितमा काम नगरेको आरोप लगाइरहेका सानो लगानीका व्यवसायीले ६/७ महिनासम्म व्यापार व्यवसाय ठप्प पारेर पनि सरकारले तोकेको करको दायरामा आउनुपरेको कठिनाइ, मासिकरुपमा भाडा बुझाउनुपर्ने बाध्यताले डिप्रेसनमा पर्नुपर्ने अवस्था आएको गुनासो गर्दै आएका छन् ।

ठूला व्यवसायीले पनि व्यवसायमा अर्बौंको घाटा बेहोरिरहेको, कर्मचारीलाई बिदाइ गर्नुपरेको, सरकारले तोकेअनुसार करको दायरामा आउनुपरेको बेलामा पनि महासंघले सशक्त भूमिका नखेलेको गुनासो गर्ने गरेका छन् । हाल व्यवसायीहरु नयाँ नेतृत्वले आफ्नो पक्षमा आवाज उठाउलान् भन्ने अपेक्षामा छन् । व्यवसायीका ती मागलाई महासंघले प्राथमिकताका साथमा उठाउनुपर्ने चुनौती पनि अर्को छ । हाल विधानअनुसार एसोसिएट, बस्तुगत, जिल्ला तथा नगर र राष्ट्रिय तर्फबाट गरी ७८ जना निर्वाचित हुनछन् । एसोसिएटसबाट १९, जिल्ला तथा नगरबाट १८, बस्तुगतबाट १४, राष्ट्रियबाट एक, संस्थापक सदस्यबाट एक र सबै प्रदेशबाट ७ जना निर्वाचित हुन्छन् ।

संम्बन्धित समचार

Leave a Reply