रिपोको ब्याजदर फेरि न्यून विन्दुमा

चैत्र ३, काठमाण्डौँ । बैंकिङ प्रणालीमा तरलता सहज हुँदै गएपछि नेपाल राष्ट्र बैंकले बजारमा पैसा पठाउने मौद्रिक औजार रिपोको ब्याजदर पनि घट्न थालेको छ । नेपाल राष्ट्र बैंकले बिहीवार जारी गरेको १४ दिन अवधिको १५ अर्ब रुपैयाँ बराबरको रिपोमा औसत ७ दशमलव ७९ प्रतिशत ब्याजदर कायम भएको छ ।

यो चालू आर्थिक वर्ष आव कै दोस्रो न्यून ब्याजदर हो । यो वर्ष राष्ट्र बैंकले १३ पटक रिपो जारी गरी २ खर्ब ९६ अर्ब ५० करोड रुपैयाँ बजारमा पठाएको छ । यसमा सबैभन्दा बढी पुस १५ गतेको रिपोमा औसत ८ दशमलव ५७ प्रतिशत ब्याजदर कायम भएको थियो । उक्त रिपोमा बैंकहरूले अधिकतम १० दशमलव १० प्रतिशतसम्म ब्याज बोलकबोल गरेका थिए ।

माघ ५ गते रिपोको ब्याजदर ७ दशमलव ५८ प्रतिशतसम्म ओर्लिएको थियो । बिहीवारको रिपोका लागि बैंकहरूले गरेको बोलकबोलमा अधिकतम ब्याजदर पनि ८ दशमलव ५० प्रतिशत मात्र छ । बिहीवार १६ ओटा बैंक, वित्तीय संस्थाले ६४ ओटामात्र बोलकबोल पेश गरेका छन् ।

चालू आवको मौद्रिक नीतिमा अन्तरबैंक ब्याजदर बैंकदरभन्दा २ प्रतिशत विन्दुले तलमाथि हुँदा रिपोररिभर्स रिपो जारी गर्नुपर्ने उल्लेख छ । बुधवार बजारमा अन्तरबैंक ब्याजदर ७ दशमलव शून्य १ प्रतिशत रहे पनि केन्द्रीय बैंकले रिपो जारी गरेर बजारमा पैसा पठाएको हो ।

राष्ट्र बैंकले यसअघि फागुन १८ गते १४ दिनको रिपोमार्फत २० अर्ब रुपैयाँ तरलता प्रवाह गरेको थियो । उक्त रिपो परिपक्व भएकै दिन १५ अर्ब रुपैयाँको रिपो जारी गरेको हो । प्रणालीमा साधारण तरलता अभावको अवस्थामा पनि मौद्रिक व्यवस्थापन विभागले रिपोररिभर्स रिपो जारी गर्न सक्ने प्रावधान छ । यो समाचार आर्थिक अभियान दैनिकमा छ ।

संम्बन्धित समचार

Leave a Reply