रामसहाय यादव: शिक्षकदेखि उपराष्ट्रपतिसम्म

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ चैत्र ३, शुक्रबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

चैत्र ३,काठमाडौँ । देशको तेस्रो उपराष्ट्रपतिका लागि शुक्रवार सम्पन्न मतदानबाट जनता समाजवादी पार्टी (जसपा) का संसदीय दलका नेता एवम् पूर्वमन्त्री रामसहायप्रसाद यादव निर्वाचित भएका छन्।

यादवको जन्म विसं २०२७ साउन ९ गते बुवा स्व. प्रसाद राय यादव र आमा स्व. सिहवादेवी यादवका कान्छो छोराका रूपमा बाराको कचोर्वा–८ बसवरियामा भएको हो । उनका दुई दाजुभाइ तथा तीन दिदीबहिनी छन् । साथै श्रीमती, दुई छोरा र एक छोरी छन् ।

उनि विसं २०७२ मा मधेसी जनाधिकार फोरम नेपाल र सङ्घीय समाजवादी पार्टी नेपाल एकीकरण भई गठन भएको सङ्घीय समाजवादी फोरम नेपालको महासचिव भएका थिए । यादव गएको मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि सभा सदस्यको चुनावमा बारा क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए । उनि यसअघि २०७४ सालमा पनि बारा–२ बाटै प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए ।

मधेस आन्दोलनका क्रममा दरिलो पहिचान बनाएका उनि राजनीतिक जीवनअघि बाराको कलैयामा २३ वर्षसम्म शिक्षण पेसामा समर्पित थिए । बारा कलैयामा रहेको श्री पन्ना देवी कन्या माविमा यादव विज्ञान र गणित विषयको शिक्षक थिए ।

भारतको सीतामढी कलेजबाट विज्ञान विषयमा स्नातक र ठाकुरराम बहुमुखी क्याम्पस वीरगञ्जबाट शिक्षा सङ्कायमा स्नातक अध्ययन गरेका यादवको प्राथमिक शिक्षा आफ्नै गाउँको श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालय बसवरियाबाट सुरु भएको थियो ।

नेपाल सद्भावना पार्टीबाट राजनीति सुरु गरेका यादवले उच्च शिक्षा लिई भारतको सीतामढीबाट बीएससी अध्ययन गरी फर्किँदा नेपालमा २०४६ सालको आन्दोलन सुरु भइसकेको थियो । त्यस समयमा तराई मधेसका मुद्दामा नेपाल सद्भावना पार्टीले काम गरिरहेको विषय जानकारी पाएपछि उनि २०४७ सालमा सद्भावना पार्टीमा प्रवेश गरेका थिए ।

त्यस पार्टीका अध्यक्ष गजेन्द्रनारायण सिंहको निधनपछि राजविराज महाधिवेशनमा नेपाल सद्भावना पार्टी विभाजनको विरोधमा आनन्दी देवीको नेतृत्वमा पार्टी एकताका लागि आमरण अनशनमा बस्ने यादव पहिलो नेता हुन् ।

राजनीतिका क्रममा उनको भेट उपेन्द्र यादवसँग भएपछि उनि २०५९ सालमा मधेसी जनाधिकार फोरममा आबद्ध भएका थिए । त्यसपछि उनि। २०६४ सालमा पहिलो संविधान सभामा समानुपातिक तर्फबाट सदस्य हुनुभएको थियो भने वि.सं २०६५ मा उनि पार्टी महासचिव भए । यादव स्वच्छ तथा इमानदार छविका नेता मानिन्छन् ।
उनि विसं २०७६ सालमा समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा) बीच एकीकरण भई गठित जनता समाजवादी पार्टी नेपालको कार्यकारिणी समिति सदस्य भएका थिए । वि.सं २०७८ मा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा वन तथा वातावरण मन्त्री भएका उनि अहिले जनता समाजवादी पार्टीको संसदीय दलको नेताको भूमिकामा समेत छन् ।

पार्टी तथा सरकारको प्रतिनिधि भई उहाँले अहिलेसम्म संयुक्त राज्य अमेरिका, पोल्यान्ड, चीन, बेलायत, बेल्जियम, यूएईलगायत देशको भ्रमण गरिसकेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस