वर्षा र सहकालका देवता सेतो मच्छेन्द्रनाथको रथयात्राको तयारी

चैत्र १५,काठमाडौँ । वर्षा र सहकालका देवता सेतो मच्छेन्द्रनाथको रथयात्राको तयारी भएको छ । हरेक वर्ष चैत शुक्ल अष्टमीदेखि दरबारमार्गमा रहेको तीनधारा पाठशालाबाट रथयात्रा शुरु हुन्छ ।

रथयात्राका लागि आज दिउँसो चार बजे काठमाण्डौको इन्द्रचोक नजिकै रहेको केलटोलको मन्दिरबाट देवताको मूर्ति खटमा राखेर दरबारमार्गमा रहेको तीनधारा पाठशाला अगाडि लगिनेछ । त्यसपछि मूर्तिलाई खटबाट निकालेर रथमा राखेर रथयात्रा शुरु हुनेछ ।

आज सेतो मच्छेन्द्रनाथको रथलाई तीनधारा पाठशालाबाट तानेर असनमा पुर्याइनेछ। असनमा आज राति राष्ट्रपति रामचन्द्र पौडेलले रथको दर्शन गरी प्रसाद ग्रहण गर्ने कार्यक्रम रहेको छ । शहरको भित्री भागमा तीन दिनसम्म रथयात्रा हुने गर्छ । असन, वसन्तपुर, जैसीदेवल, लगन हुँदै पुनः रथयात्रा मच्छेन्द्रबहाल लगरेर अन्त्य गर्ने चलन छ । हरेक वर्ष यो जात्रा गरेपछि वर्षा र सहकाल हुने धार्मिक विश्वास छ । रथ दोस्रो दिन भोलि असनबाट वसन्तपुरमा रहेको कालभैरवअघि लगिन्छ । तेस्रो दिन वसन्तपुरबाट लगनसम्म तानेर जात्रा गर्ने परम्परा छ ।

त्यस्तै आज चोभारको आदीनाथ पनि भनिने आनन्दादी लाकेश्वरको जात्रा हुँदैछ । हरेक वर्ष चैते दशैँका दिन आनन्दादी लाकेश्वरको खटजात्रा हुने गर्दछ । चोभारको आनन्दादी लाकेश्वरको खटजात्राको लागि आज बिहान चोभारमा रहेको दोभानमा द्यः लायगु भनेर देवतालाई कलशमा राखेर ल्याएको पुजारी सरोज शाक्यले बताए ।

आज दिउँसो लोकेश्वरको मूर्तिलाई चोभारको विभिन्न ठाँउमा खटमा राखेर परिक्रमा गरिनेछ । सेतो मच्छेन्द्रनाथ र चोभारको आदीनाथको जात्रा सकिए पछि आँउदो २४ गते ललितपुरको रातो मच्छिन्द्रनाथलाई महास्नान गरिनेछ ।

संम्बन्धित समचार

Leave a Reply