अस्ट्रेलियन ओपन : रुसी टेनिस सुन्दरी सारापोभाको विजयी सुरुवात

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७५ पौष ३०, सोमबार (६ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

पौष ३०, काठमाडौं । वर्षको पहिलो ग्रान्डस्लाम टेनिस प्रतियोगिता ‘अस्ट्रेलियन ओपन’ मा रुसी टेनिस सुन्दरी मारिया सारापोभाले विजयी सुरुवात गरेकी छन्। ३०औं वरीयतामा आसिन ३१ वर्षीया सारापोभाले सोमबार बिहान खेलिएको महिला एकलतर्फको पहिलो चरणको खेलमा ब्रिटेनकी ह्यारिट डार्टलाई ६-०, ६-० को सोझो सेटमा पराजित गरिन्।

विश्व टेनिसमा प्रत्येक वर्ष अस्ट्रेलियन ओपन, विम्बल्डन, फ्रेन्च ओपन र यूएस ओपन गरी चारवटा ग्रान्डस्लाम प्रतियोगिता हुन्छन्। सारापोभाले हालसम्म अस्ट्रेलियन ओपन, विम्बल्डन र यूएस ओपनको उपाधि एक/एक पटक र फ्रेन्च ओपनको उपाधि दुई पटक जितेकी छन्।

यसैगरी पहिलो चरणको अर्को खेलमा क्रोएसियाकी डोना भेकिचले पनि जित हात पारिन्। २९औं वरीयतामा आसिन भेकिचले ६-२, ६-४ अंकले फ्रान्सेली प्रतिद्वन्द्वी क्रिस्टिना माल्देनोभिचलाई पराजित गरिन्।

१९औं वरीयतामा आसिन फ्रान्सेली खेलाडी क्यारोलिन गार्सियाले पनि पहिलो चरणको खेलमा सफलता हात पारिन्। उनले आफ्नै राष्ट्रकी जेसिका पोनचेटलाई ६-२, ६-३ अंकले पाखा लगाइन्। ब्रिटिस खेलाडी हेथर वाट्सन भने पहिलो चरणको खेलमै हारिन्। उनलाई क्रिोएसियाकी पेत्रा मार्टिचले ६-१, ६-२ ले हराइन्। पुरुष एकलतर्फ र महिला एकलतर्फका अन्य खेल भने जारी छन्।

ताजा अपडेट

खोजी गर्नुहोस