शेयरबजारमा एकल अंकको बढोत्तरी, शिवम् सिमेन्टको सर्वाधिक कारोबार

चैत्र २२,काठमाडौँ । अर्थमन्त्रीमा डा. प्रकाशशरण मत नियुक्त भएपछिको साताको सुरुवाती तीन दिन घटेको सेयर बजार चौथो दिन भने एकल अंकले वृद्धि भएर बन्द भएको छ । गत बिहीबारयता लगातार चार दिन घटेको नेप्से पाँचौं दिन बुधबार भने बढेको हो । बुधबार बजार परिसूचक नेप्से ८.३९ अंकले वृद्धि भएर १८७५.०४ अंकमा बन्द भएको छ । बुधबार उत्पादनमूलक, व्यापार र निर्जीवन बीमा बाहेक सबै उपसूचकमा वृद्धि हुँदा नेप्से पनि बढेको हो ।

होटल तथा पर्यटन उपसूचक १.०४ प्रतिशत र बैंकिङ उपसूचक ०.६५ प्रतिशतले वृद्धि भएको छ । यता उत्पादनमूलक उपसूचक ०.१० प्रतिशत, निर्जीवन बीमा उपसूचक ०.५२ प्रतिशत र व्यापार उपसूचक ०.४१ प्रतिशतले गिरावट भएको छ । नेप्सेमा वृद्धि भएपनि कारोबार रकम भने घटेको छ । मंगलबार करिब ९२ करोडको कारोबार भएको बजारमा बुधबार ८१ करोड ६० लाखमा झरेको हो । २१ हजार ५०४ वटा कारोबारमा २६ लाख २ हजार ९५६ कित्ता किनबेच हुँदा उक्त रकमको कारोबार भएको हो ।

बुधबार कारोबार भएकामध्ये शिवम् सिमेन्टको सर्वाधिक ६ करोड ४३ लाख रुपैयाँको कारोबार हुँदा नबिल बैंकको २ करोड ३६ लाख र गुराँस लाइफ इन्स्योरेन्सको २ करोड २२ लाख रुपैयाँको सेयर कारोबार भएको छ । नेप्सेमा समान्य सुधार भएपनि कारोबार रकम घटेको बजारमा बुधबार २१७ कम्पनीको सेयर कारोबार हुँदा १४६ कम्पनीको सेयरमूल्य बढेको छ । यस्तै ६४ कम्पनीको सेयरमूल्य घटेको छ भने ७ कम्पनीको सेयरमूल्यमा स्थिर रहेको छ ।

बुधबार कारोबार भएको कम्पनीमा कालिञ्चोक दर्शन लिमिटेडको सेयरमूल्य ९.९७ प्रतिशतले वृद्धि भएर सकारात्मक सर्किट मूल्यमा बन्द हुँदा लक्ष्मी लघुवित्तको सेयरमूल्य ७.४१ प्रतिशत र समता घरेलु लघुवित्तको सेयरमूल्य ६.२२ प्रतिशतले वृद्धि भएको छ । यता न्यादी हाइड्रोपावरको सेयरमूल्य ४.५८ प्रतिशतले गिरावट हुँदा श्वेतगंगा हाइड्रोपावरको सेयरमूल्य ३.२१ प्रतिशत र सिद्धार्थ प्रिमिय इन्स्योरेन्सको सेयरमूल्य २.६० प्रतिशतले गिरावट भएको छ ।

 

संम्बन्धित समचार

Leave a Reply