नेपाल उद्योग वाणिज्य महासंघको जिल्ला-नगरतर्फ उपाध्यक्षमा अरुण सुमार्गीको उम्मेदवारी किन ?

-अरुणराज सुमार्गी

नेपाल उद्योग बाणिज्य महासंघको आसन्न निर्वाचनमा मैले जिल्ला नगरतर्फ केन्द्रिय उपाध्यक्षको लागि मनोनयन दर्ता गरेको छु । इजी टु कनेक्ट’ सहजै सम्पर्कमा रहने) मेरो नीति हो । मलाई विश्वास गर्ने सबैभन्दा ठूलो आधार पनि यहीँ नै हो । अहिले नेपाल उद्योग वाणिज्य महासङ्घ र जिल्ला नगर उद्योग वाणिज्य सङ्घहरुबीच ‘कम्युनिकेशन ग्याप’ छ । नेतृत्वमा पुग्नेहरुले जिल्लाका साथीहरुको फोन नउठाइदिने, उनीहरुका गुनासा र पीडा नसुन्ने अनि सरकारले बोलाउँदा सबैको प्रतिनिधि मै हुँ भनेर जाने । यस्तो परिपाटीले जिल्ला नगरका साथीहरुमाथि न्याय हुँदैन ।

दोस्रो कुरा, जिल्लाको आजको आवश्यकता भनेको व्यवसायिक मुद्दाहरु सँगसँगै ‘पोर्टफोलियो’ पनि हो । महासङ्घमा जिल्ला नगर उद्योग वाणिज्य सङ्घका अध्यक्षहरुको वरियता खोज्ने एक मात्र पात्र म हुँ । हिजो २०५४ सालपछि स्थानीय चुनाव हुन नसकेर स्थानीय जनप्रतिनिधि नभएका बेला १९ वर्ष जिल्ला उद्योग वाणिज्य सङ्घहरुले जिल्ला विकास समितिसँग मिलेर स्थानीय सरकारकै सरह काम गरेका हुन् । केन्द्रले हरेक पत्रमा उद्योग वाणिज्य सङ्घहरुसँग समन्वय गर्नु भनेको हुन्थ्यो । यसरी योगदान दिएका जिल्ला उद्योग वाणिज्य सङ्घका अध्यक्षको पोर्टफोलियो वडा सदस्यको जत्ति पनि छैन ।

निर्वाचित सांसदभन्दा एक तह मुनिको वरियतामा जिल्ला भरिका उद्योगी व्यवसायीको प्रतिनिधित्व गर्ने जिल्ला उद्योग वाणिज्य सङ्घको अध्यक्ष हुनुपर्छ भन्ने हाम्रो माग छ ।

अर्को कुरा, अहिले जिल्लामा स्थानीय कर, दोहोरो कर लगायतका समस्या छन् । रात्रिकालिन व्यवसाय गर्न पाउने की नपाउने भन्ने कुरा छन् । बैंकको चक्रवर्ती ब्याजका कारण व्यवसायीहरु पीडामा छन् । यी समस्या समाधानका लागि केन्द्रित रहेर समाधान गर्न सकिन्छ भनेर योजना नै बनाएको छु । यसकारण पनि देशैभरका मतदाता साथीहरुले मलाई विश्वास गर्नुहुन्छ ।

अर्को भनेको जिल्ला नगर उद्योग वाणिज्य सङ्घहरुले आफ्नो सानो आम्दानीको रुपमा आयोजना गर्ने मेलाहरुमा पनि ठेकेदार पठाउन थालिएछ । यो काम सम्बन्धित जिल्ला नगर उद्योग वाणिज्य सङ्घले नै गर्ने हो, ठेकेदार पठाएर यहाँ बसेर नाफा कमाउने गर्दा रहेछन् । मैले कयौँ जिल्लामा त्यहाँको सीडीओलाई भनेर रोक्न लगाएको पनि छु । यस्ता धेरै विषयहरुमा जिल्ला जिल्लामा जोडिएको हुनाले मप्रति सबै जिल्लाका साथीहरुको विश्वास छ ।

नेपाल उद्योग वाणिज्य महासङ्घको इतिहासमा ५६औँ साधारणसभा सकाएर अहिले ५७औँ वार्षिक साधारणसभासम्म आउँदा महासङ्घमा ५० प्रतिशत मतभार भएको जिल्ला नगरका प्रतिनिधिले महासङ्घ कहिलेकहिले हाँकेछन् भनेर हेर्दा शिला खोज्नुपर्नेछ । यो किन भएछ त भन्दा महासङ्घको नेतृत्वमा पुग्ने क्षमता भएको व्यक्तिलाई रोक्ने खेल हुँदोरहेछ ।

३ कार्यकाल केन्द्रीय सदस्य भएर समय खर्चिएर मैले यसबारे गहन अध्ययन गरेको छु ।

जिल्लाजिल्लामा पुगेर त्यहाँका साथीहरुसँग यसको बारेमा मैले छलफल गरेको छु । यसबाट मैले के पाएँ भने महासङ्घ हाँक्न सक्ने क्षमता भएका मान्छे महासङ्घमा नपसेका होइनन्, तर महासङ्घको निर्वाचनमा जादुमयी तरिकाले टिम बनाएर नेतृत्वमा पुग्ने क्षमता भएको जिल्लाबाट आएको मान्छेलाई कुनै न कुनै ढङ्गबाट रोकिँदो रहेछ । अहिले त झन कसैले ठेक्का लिएरै म जिताइदिन्छु भन्ने सम्मको देखियो ।

अर्को कुरा, जिल्लाका अध्यक्षहरु र अरु पदाधिकारीहरुलाई निर्वाचनको बेला मात्रै सम्झिने गरियो । चुनावका बेला जन्ती हिंडाएको जस्तो खाना, गाडी घोडा दिएर पछि लगाउने तर, चुनावपछि फर्केर नहेर्ने परिपाटी हाबी हुँदैगयो, यस्तो रवैया हुनुहुँदैन भनेर महासङ्घमा विगत ३ कार्यकालदेखि लड्दै आएको छु ।

मैले २०६६ सालतिर महासङ्घलाई हाँक्नसक्ने एउटा उदयमान व्यक्ति देखें कृष्ण ताम्राकार (भक्तपूर उद्योग वाणिज्य सङ्घको पूर्व अध्यक्ष० । तर, उहाँलाई अनेक जाल गरेर साइड लगाइयो । त्यसपछि प्रमोद श्रेष्ठ थिए । जेसिसबाट उदाएका डायनामिक मान्छेलाई पनि महासङ्घले साइड लगायो ।

अहिले पनि २ वर्षसम्म वरिष्ठ उपाध्यक्षको उम्मेदवारका रुपमा प्रचार गरेर हिडेका व्यक्ति फेरि जिल्ला नगरमै उठ्दैछन् भन्ने सुन्दैछु । उहाँलाई त माथि जान पो पठाइएको त, हाम्रो पुस्तालाई नै रोक्न लाग्नुहुँदैछ भन्ने सुनिरहेको छु । अहिले मसँग उपाध्यक्ष लड्छु भनिरहेका व्यक्तिलाई अघिल्लो पटक मैले नै उपाध्यक्ष छोडेको हो । उहाँको पनि पृष्ठभूमि जिल्ला नगर नभइ वस्तुगत हो । जिल्लामा कुनै पनि भुईं छैन । महासङ्घको विधान अनुसार उहाँ अध्यक्ष रहेको जिल्ला उद्योग वाणिज्य सङ्घ नै इलिगल छ । फेरि उहाँलाई अघि सारेर म जस्तो मान्छेलाई रोक्नुपर्छ भन्ने मानसिकताले टिम बनाएको देखिन्छ ।

तर, ५० प्रतिशत मतभार रहेको जिल्ला नगरबाट आएका व्यक्तिहरुको फोटो खोइ त महासङ्घमा ? मैले देख्न खोजेको त्यो हो । राष्ट्रपति जिल्लाबाटै चुनाव जितेर आएको मान्छे, प्रधानमन्त्री जिल्लाबाटै चुनाव जितेको मान्छे । तर, महासङ्घमा जिल्लाबाट आएको मान्छेले नेतृत्व किन गर्न सकेन ? यसको उत्तर के हो भने, हामीलाई सधैँ बार लगाएर छेक्ने काम भइरह्यो । म त्यो बार भत्काएर जानका लागि आएको हुँ । मेरो उम्मेदवारी पनि यसैका लागि हो ।

संम्बन्धित समचार

Leave a Reply