पूर्व महाप्रबन्धक प्रेमनाथ ठाकुरको निलम्बन फुकुवा, कसुर प्रमाणित भएन

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ चैत्र २७, सोमबार (१ साल अघि)
  • ४ पटक पढिएको
Post Thumbnail

चैत्र २८,काठमाडौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट टेप प्रकरणका कारण निलम्बित पूर्व महाप्रबन्धक प्रेमनाथ ठाकुरको निलम्बन फुकुवा भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुरु गरेको विस्तृत अनुसन्धानबाट दोषी पुष्टि नभएपछि प्राधिकरणको संचालक समितिले निलम्बन फुकुवा गरेको प्राधिकरण स्रोतले जनाएको छ।

‘अस्तिको बोर्डको बैठकबाट यो निर्णय भएको हो। सुरुमा एउटा अडियो भेटिएर त्यतिखेर संचालक समितिबाट तत्काल छानबिनका लागि भनेर निलम्बन गरिएको थियो। जुटाइएका प्रमाण अख्तियार पठाइएको थियो। थप प्रमाण नै नजुटेपछि निलम्बन फुकुवा गरिएको हो,’ स्रोतले भन्यो।

यो घटना बाहिरिएसँगै प्राधिकरणले गठन गरेको संचालक समितिले उपसमिति गठन गरेको थियो। उपसमितिले दिएको सिफारिसका आधारमा निलम्बन फुकुवा भएपछि उनले बिहीबारबाटै हवाई सेवा निर्देशनालय प्रमुखको जिम्मा पाइसकेका छन्।

‘तत्काल दोषी सावित गर्ने किसिमको कुनै पनि क्लियर एभिडेन्स भेटिएको छैन। अख्तियारबाट पनि कुनै पत्र आएन। त्यो हिसाबले उहाँको निलम्बन फुकुवा गरिएको हो,’ स्रोतले भन्यो,’कर्मचारीलाई तीन महिनाभन्दा बढी निलम्बन गर्न नपाइने व्यवस्था रहेको छ।’

अडियो सार्वजनिक भएसँगै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ठाकुरलाई निलम्बित गरेको थियो। एक विदेशी एयरलाइन्सका प्रतिनिधिसँग आर्थिक लाभ लिने उद्देश्यले कुराकानी भएको आरोप लागेपछि अख्तियारको अनुसन्धानको लागि उनलाई निलम्बन गरिएको थियो।

उनलाई थाई स्माइल एयरलाइन्सका प्रतिनिधिसँग लाभ लिने उद्देश्यले कुराकानी गरेको आरोप लागेको थियो।

 

ताजा अपडेट

खोजी गर्नुहोस