‘पार्टी एकता’ कसरी भयो साहसिक निर्णय ? प्रचण्डले यसरी गरे खुलासा !

  • अनलाइन केन्द्र
  • / तस्विर /
  • २०७५ जेष्ठ २७, आईतबार (६ साल अघि)
  • ४१ पटक पढिएको
Post Thumbnail

जेठ २७,विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा सुशासन र राजनीतिक स्थिरता कायम राख्न कम्युनिष्ट पार्टीहरु एक भएको बताएका छन ।

उद्योग संगठन मोरङ स्वर्ण जयन्ती समापन समारोह एवं ४६औँ वार्षिक साधारणसभा उद्घाटन समारोहलाई आज यहाँ सम्बोधन गर्दै उहाँले सो कुरा बताएका हुन ।

अध्यक्ष प्रचण्डले विस्तृत शान्ति सम्झौता र नयाँ राजनीतिक प्रक्रिया शुरु भइसकेपछि सबैभन्दा बढी उद्योग संगठनका पदाधिकारीहरुसँग छलफल गरेको जानकारी दिँदै निजी क्षेत्रसंगको सहकार्यबिना मुलुकमा आर्थिक विकास गर्न सम्भव नभएको बताए ।

उनले राजनीतिक स्थिरता कायम गर्न आफूले साहसिक निर्णय गरेको र यसैको उपजबाट दुवै कम्युनिष्ट पार्टी एक भएको भन्दै राज्यमा ठूला–ठूला परिवर्तन राजनीतिक पार्टीहरुको एकता र सहकार्यबाट नै सम्भव भएकोमा जोड दिए ।

अध्यक्ष प्रचण्डले शान्ति सम्झौतापछि १० वर्ष संविधान र लोकतान्त्रिक संरचना निर्माण गर्नमा समय खर्च भएको विचार राख्दै अबको दशकमा विकास निर्माण र समृद्धिका लागि संकल्प गर्न सबैसँग आग्रह गरे ।

राजनीतिक चेतना र आर्थिक विकासको क्रियाकलापमा अग्रणी भूमिका निर्वाह गरेको विराटनगरवासीले अब आर्थिक विकासको संकल्प लिनुपर्ने समय आएको बताउंदै उनले चीनसँगको आर्थिक र व्यापारिक साझेदारी कायम गर्न किमाथाङको बाटो बन्नुपर्नेमा जोड दिए ।

उनले सरकारले प्रस्तुत गरेको नयाँ बजेटमा विराटनगर विमानस्थलको स्तरोन्नति, युवालाई रोजगार, बन्द उद्योग सञ्चालन र नयाँ उद्योग स्थापना गर्न कोशेढुंगा बन्ने भन्दै नयाँ बजेटले आर्थिक स्थिति सुदृढ गर्ने र व्यापार घाटा कम गर्ने सिद्धान्तबाट प्रेरित भएर आएको जानकारी दिए ।

भारत–चीन दुवै देशका नेता तथा जनताले नेपालको विकास र समृद्धि होस् भन्ने चाहेको बताउँदै अध्यक्ष प्रचण्डले कृषिमा आधारित उद्योगलाई प्राथमिकतासाथ अघि बढाउनुपर्छ भने।

विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले निजी क्षेत्रसँग साझेदारी तथा हातेमालोबिना आर्थिक विकास सम्भव नभएको बताए ।

जिल्ला उद्योग संगठनका अध्यक्ष मुकेश उपाध्यायले संगठनको गतिविधिबारेमा जानकारी गराएका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस