सुनसरी, मोरङ औद्योगिक कोरिडोरमा बिजुली आपूर्तिको समस्या अल्पकालीन : कुलमान घिसिङ

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० बैशाख १०, आईतबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

बैशाख १०,काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले कोशी प्रदेशका सुनसरी, मोरङ औद्योगिक कोरिडोरलगायतका क्षेत्रमा देखिएको बिजुली आपूर्तिको समस्या अल्पकालीन भएको प्रष्ट पारेको छ । विना जानकारी उद्योगहरूको बिजुली आपूर्ति कटौती गरिएको भन्ने उद्योगीहरूबाट गुनासो आएपछि प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आइतवार ऊर्जा क्षेत्रका पत्रकारहरूसँगको भेटमा त्यस क्षेत्रमा देखिएको समस्या १०-१५ दिनमा समाधान हुने र समस्यालाई बुझिदिन उद्योगीहरूलाई आग्रह गरे ।

यस वर्ष हिउँरपानी नपरेर सुक्खायाम लम्बिँदा नदी प्रवाहमा आधारित जलविद्युत् आयोजनाहरूको बिजुली उत्पादनमा झन्डै ३० प्रतिशत कमी आएको, धनुषाको ढक्केबर सबस्टेशनबाट थप बिजुली पूर्वतर्फ पठाउन प्रसारण लाइनको क्षमताले नधानेको, सप्तरीको रुपनी सबस्टेशनको ब्रेकर चुँडिएको र कटैया–कुशहवा १३२ केभी प्रसारण लाइनमार्फत भारतको बिहारबाट आयात भइरहेको बिजुली उताबाट कटौती हुँदा मागअनुसार आपूर्ति गर्न समस्या भएको कार्यकारी निर्देशक घिसिङले उल्लेख गरे ।

कार्यकारी निर्देशक घिसिङका अनुसार ताप्लेजुङ, पाँचथर र इलाममा निर्माण भएका जलविद्युत् आयोजनाहरूको जडित क्षमता झन्डै दुई सय मेगावाट भए पनि हिउँ-पानी नपर्दा अहिले झन्डै ३० मेगावाटमात्र बिजुली उत्पादन भई काबेली कोरिडोर प्रसारण लाइनमार्फत प्रवाह भइरहेको छ । तर एक/दुई दिनदेखि ती आयोजनाहरूबाट बिजुली उत्पादन बढ्दै गएकोले उद्योगहरूलाई अहिले नियमित बिजुली आपूर्ति भइरहेको कार्यकारी निर्देशक घिसिङले बताए ।

‘सुनसरी, मोरङ ओद्योगिक कोरिडोरका उद्योगहरूमा बिजुली काटेका छैनौँ, लाइटिङ लोडमा मात्र चलाउनु भनेका थियौँ । काबेली कोरिडोरमा उत्पादन बढ्नासाथ उद्योगहरूलाई बिजुली आपूर्ति दिन सुरु गरिसकेका छौँ, अहिले देखिएको अल्पकालीन समस्या हो, ठूलो समस्या हैन’, उनले भने, ‘अब १०/१५ दिनमा प्रि–मनसुन सुरु हुने अनुमान गरिएको छ र त्यसपछि खोलानालामा पानीको बहाव बढेसँगै बिजुली उत्पादन वृद्धि हुन्छ । त्यसपछि आन्तरिक रूपमा खपत गरी बाँकी भएको बिजुली जेठको पहिलो हप्तादेखि भारतमा निर्यात सुरु गर्छौँ । यस वर्ष झन्डै एक हजार दुई सय मेगावाट बिजुलि निर्यात हुने अनुमान गरेका छौँ, निर्यात अनुमतिको स्वीकृतिका लागि भारतीय निकायहरूमा आयोजनाहरूको सूची पठाइसकेका छौँ ।’

अहिले प्रणालीमा बिजुलीको उच्चतम माग एक हजार सात सय ५० मेगावाट पुगेको छ । औसत माग एक हजार तीन सय मेगावाट र आधार माग एक हजार दुई सय ७५ मेगावाट रहेको छ । तराईमा गर्मी बढ्दा खेतमा सिँचाइ गर्न सिँचाइको लोड अत्यधिक बढेको छ । झापाको दमकदेखि अनारमनी क्षेत्रको मात्र बिजुली माग ८० मेगावाट पुगेको छ । प्राधिकरणले कुलेखानी जलाशयलाई २४ सै घण्टा पूर्ण क्षमतामा चलाएको छ । आन्तरिक उत्पादनले बिजुली माग धान्न नसकेपछि दैनिक रूपमा औसतमा पाँच सय मेगावाट आयात गरिएको छ ।

गएको वर्षभन्दा यस वर्ष जलविद्युत् आयोजनाहरूको जडित क्षमता बढे पनि पानी/हिउँ नपर्दा देशभित्रको बिजुली उत्पादनमा झन्डै ३० प्रतिशत कमी आएको छ । प्राधिकरणका विद्युत् गृहहरूबाहेक निजी क्षेत्रका जलविद्युत् गृहको बिजुली उत्पादन जडित क्षमताको झन्डै १४ प्रतिशतमात्र रहेको प्राधिकरणको अनुमान छ ।

कार्यकारी निर्देशक घिसिङले आउँदो वर्षको गर्मी मौसममा अहिलेको जस्तो समस्या आउन नदिन अहिले ढल्केबर–इनरुवा ४०० केभी प्रसारण लाइन र हेटौँडा–भरतपुर–बर्दघाट–नयाँ बुटवल २२० केभी प्रसारण लाइन निर्माण जतिसक्दो छिट्टै सम्पन्न गर्ने गरी काम भइरहेको बताए । यी लाइन बनेपछि ढल्केबरबाट पूर्व र पश्चिम बिजुली प्रवाहका लागि प्रसारण लाइनको समस्या नहुने उनले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस