गण्डकी प्रदेशको मुख्यमन्त्रीमा सुरेन्द्रराज पाण्डे नियुक्त

बैशाख १४,काठमाडौँ । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे नियुक्त भएका छन् । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पाण्डेलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । पाण्डेले आज बिहीवार नै प्रदेश प्रमुखसमक्ष बहुमतसहित मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् । पाण्डेलाई कांग्रेसका २७, माओवादीका सात र एक स्वतन्त्रसहित ३५ जना सांसदको समर्थन छ । प्रदेश प्रमुखले हिजो मङ्गलवार संविधानको धारा १६८ ९२० बमोजिम मुख्यमन्त्रीमा दाबी पेस गर्न दलहरूलाई आह्वान गरेका थिए ।

मुख्यमन्त्रीमा नियुक्ति भएपछि पाण्डेले अहिलेको गठबन्धन प्रदेश सभाको अवधिभर रहने बताउँदै सरकार आलोपालो गरेर चलाउने बताए । उनले छिटै मन्त्रिपरिषद्लाई पूर्णता दिने र सरकारको न्यूनतम साझा कार्यक्रम तयार गर्ने बताए । मन्त्रिपरिषद् सात सदस्यीयभन्दा नबढ्ने उनको भनाइ छ । प्रदेशलाई आत्मनिर्भर बनाउने र रोजगारी बढाउने खालका कार्यक्रमहरू बजेटमा समेट्ने उनले प्रतिबद्धता जनाए ।

गण्डकीको नेतृत्वमा माओवादीको पनि दाबी थियो । तर केन्द्रबाट नै पहिलो कार्यकाल कांग्रेसले नेतृत्व गर्ने निर्णय पठाएपछि माओवादी सांसदले कांग्रेसका पाण्डेलाई समर्थनको हस्ताक्षर बुझाएका हुन् । माओवादीबाट दलका नेता हरिबहादुर चुमानले मुख्यमन्त्री दाबी गरेका थिए । चुमानले आलोपालो गरेर सरकार चलाउने बताउँदै कसले कति वर्ष चलाउने भन्ने निर्णय भइनसकेको बताए ।

नवनियुक्त पाण्डे भोलि शुक्रवार पद तथा गोपनीयताको शपथ लिने तयारीमा हुनुहुन्छ । गण्डकी प्रदेशमा नेपाली कांग्रेसका २७, नेकपा एमालेका २२, माओवादीका आठ, राप्रपाका दुई र स्वतन्त्र एक जना सांसद रहेका छन् ।

यसअघि खगराज अधिकारी नेतृत्वको सरकार एक सय पाँच दिनमै ढलेको थियो ।

संम्बन्धित समचार

Leave a Reply