बैशाख १५,काठमाडौँ । काठमाण्डौ महानगरपालिकाको शिक्षा विभागमा लागेको ताला नगर प्रहरीले फोडेको छ । महानगरपालिकाले विद्यालयमा राजनीतिक गतिविधि नगर्न सूचना निकाले पनि अवज्ञा गर्दै अनेरास्ववियु (क्रान्तिकारी) ले ताला लगाएको थियो । यो ताला हिजो बेलुका ८ बजेपछि नगर प्रहरीले फोडेको शिक्षा अधिकारी सीताराम कोइरालाले जानकारी दिए ।
महानगरका मेयर बालेन्द्र शाहले सामाजिक सञ्जालमा ताला फोडेको भिडियो राख्दै विद्यालयमा राजनीति गर्ने कुरा कल्पनासम्म गर्न नसक्ने बताएका छन् ।
उहाँले लेख्नु भएको छ –‘विद्यालय पढ्ने ठाउँ हो । हामी विद्यालयमा राजनीति गर्ने कुरा कल्पनासम्म गर्न सक्दैनौँ । यसै सन्दर्भमा काठमाण्डौ महानगरपालिकाले विद्यालयमा राजनीतिक गतिविधि वर्जित गरिएको सूचनाको विरोध गर्दै एक अमुक दलगत शैक्षिक सङ्गठनले ताला लगाउने दुष्प्रयास यथाशीघ्र ताला फेरेर विफल पारेको छ ।’
विद्यालयमा राजनीतिक दलका भ्रातृ सङ्गठनका कार्यक्रम नगर्न निर्देशन दिइएको विरोधमा क्रान्तिकारीले बिहीवार हिजो विभागमा तालाबन्दी गरेको थियो ।
यसअघि काठमाण्डौ महानगरपालिकाले महानगरभित्रका केही विद्यालयमा राजनीतिक दल तथा तीनका भ्रातृ सङ्गठनका कार्यक्रम सञ्चालन भएकोमा ध्यानाकर्षण भएको भन्दै त्यस्ता कार्यक्रम नगर्न निर्देशन दिएको थियो ।