प्रतिनिधि सभामा १० वटा विषयगत समिति गठन

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० बैशाख १५, शुक्रबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

बैशाख १५,काठमाडौँ । प्रतिनिधि सभाले १० वटा विषयगत समिति गठन गरेको छ । सभामुख देवराज घिमिरेले संसदीय विषयगत समितिमा रहने सदस्यहरूको नाम आज शुक्रवार संसदमा प्रस्तुत गर्नुभएको छ ।

विषयगत समितिमा रहने सदस्यहरूको नाम पढेर सभामुखले सदनसमक्ष राखेको प्रस्ताव सर्वसम्मतरूपमा अनुमोदन भएको छ । योसँगै प्रतिनिधि सभाको चुनाव भएको पाँच महिनापछि संसदीय विषयगत समिति गठन भएको छ । गएको मङ्सिर ४ गते सम्पन्न चुनावपछिको प्रतिनिधि सभाको अधिवेशन भने पुस २५ गतेदेखि सुरु भएको थियो ।

यसअघि समितिको नेतृत्व तथा सदस्य बाँडफाँटमा भएको ढिलाइ र बाँडफाँटपछि पनि संसदमा प्रतिनिधित्व गर्ने दलहरूले समितिमा रहने सदस्यहरूको नाम दिन समय लगाउँदा समिति गठनमा ढिलाइ भएको हो ।

प्रतिनिधि सभाका समितिहरूले सरकारको कामको मूल्याङ्कन तथा विभिन्न विधेयकमा छलफल गरेर टुङ्गो लगाउने काम गर्दै आएका छन् । सार्वजनिक लेखा समितिले सरकारका कामको परीक्षण गर्ने तथा महालेखा परीक्षकको प्रतिवेदनमाथि छलफल गर्ने गर्दछ । यस्ता समितिहरूले अब नियमावलीअनुसार पहिलो बैठक बसेको १५ दिनभित्र समिति सभापति चयन गर्नेछन् ।

प्रतिनिधि सभा नियमावलीअनुसार प्रतिनिधि सभामा १० वटा विषयगत समिति र राष्ट्रिय सभाको समेत गरी दुई वटा संयुक्त समिति रहेका छन् । संयुक्त समितिअन्तर्गत रहेका संसदीय सुनुवाइ समिति र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति भने अझै गठन भएको छैन ।

ताजा अपडेट

खोजी गर्नुहोस