माघ ६, काठमाडौं । मेलम्ची खानेपानी योजना निर्माणको काम अलपत्र पारेर स्वदेश फर्किएको इटालियन ठेकेदार कम्पनी सिएमसी लामो सयमसम्म नफर्केपछि सरकारले उसको नाममा पत्र पठाएको छ । दुई साताको अल्टिमेटम दिँदै मेलम्ची खानेपानी विकास परियोजनाले सीएमसीको नाममा आइतवार पत्र पठाएको हो ।
खानेपानी तथा सरसफाई मन्त्रालयका प्रवक्ता शंकर सुवेदीले मेलम्ची खानेपानी योजनाले सीएमसीलाई १४ दिन भित्र फर्कन आग्रह गर्दै पत्र पठाएको जानकारी दिए ।
१४ दिनभित्र काममा नफर्किए ऊसँगको ठेक्का प्रक्रिया रद्द हुने र नयाँ ठेक्काका लागि सरकारले निर्णय गर्ने प्रवक्ता सुवेदीले बताए ।
ठेकेदारले सरकारी कर्मचारीले आफूहरुलाई बन्दी बनाउने, धरपकड गर्ने, राहदानी जफत गर्ने लगायतका काम कारबाही गरेकाले असुरक्षित भएको महसुुस गर्दै सरकारलाई वार्ता गर्न अघिल्लो साता लण्डनमा बोलाएको थियो ।
सरकार लण्डन गएन । लण्डन प्रस्तावउपर उसले कुनै कारबाही नगरी मौन बस्दै आएको थियो । ठेकेदारले आफूले पाउनु पर्ने ३६ करोड रुपैयाँ सरकारले नदिएका कारण देखाउँदै गत पुस २ गते एकतर्फी ठेक्का रद्द गरेको थियो ।
सरकारले नयाँ ठेकेदार नियुक्ती गरी मेलम्ची काम सुरु गरेमा अर्को तीन वर्षमा आयोजना पूरा हुनेछ । सरकारले यही माघ २७ गते मेलम्चीको पानी काठमाण्डु उपत्यकामा ल्याउने उद्घोष गर्दै आएको थियो ।