एभरेष्ट बैंकको इटहरी शाखाबाट वचतकर्ताले जम्मा गरेको डेढ करोड रुपैयाँ चोरी

जेठ ६,सुनसरी । एभरेष्ट बैंकको इटहरी शाखा सुनसरीबाट वचतकर्ताले जम्मा गरेको डेढ करोड रुपैयाँ चोरी भएको छ । ग्राहकले आफ्नो खातामा जम्मा गरेको एक करोड ५० लाख २३ हजार ४ सय ३४ रुपैयाँ चोरी भएको हो ।

३३ जना वचतकर्ताको खाताबाट रकम चोरी भएपछि अनुसन्धानका लागि एभरेष्ट बैंक इटहरी शाखाका प्रबन्धकसहित अहिलेसम्म ९ जना पक्राउ परेका जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता एवं डीएसपी राजकुमार राईका अनुसार चोरीमा संलग्न भएको आरोपमा पक्राउ पर्नेहरुमा बैंकको इटहरी शाखा प्रबन्धक सिन्धुपाल्चोक बाह्रबिसे–८ घर भएका विश्वराज शाक्य, बैंकको उदयपुर गाइघाट शाखाका अपरेशन इञ्चार्ज विराटनगर–८ का निरज प्रधान, एभरेष्ट बैंक इटहरी शाखाका सुपरभाईजर धावा लामा, बैंकका कनिष्ठ सहायक मनोज घिमिरे, देवराज शर्मा, रंजित पण्डित, बैंकको इटहरी शाखाकी टेलर पवित्रा कटुवाल रहेका छन् ।

त्यस्तै धनुषाको मिथिला नगरपालिका–११ का शंकर भुजेल र भक्तपुरको सूर्यविनायक नगरपालिका– २ का अजय खिउजू पनि पक्राउ परेका छन् । पाँच महिनाको अवधिमा ३३ जना ग्राहकको खाताबाट एक करोड ५० लाख भन्दा धेरै रकम चोरी भएको र उनीहरुलाई अनुसन्धानका लागि पक्राउ गरिएको उनको भनाइ छ । उनीहरुमाथि बैँकिङ कसुर र संगठित अपराध कसुरमा म्याद थप गरेर अनुसन्धान भइरहेको डीएसपी राईले बताए ।

संम्बन्धित समचार

Leave a Reply