आइपीएलमा लखनउलाई ८१ रनले पराजित गर्दै मुम्बई दोस्रो क्वालिफायरमा

जेठ ११, काठमाडौँ । मुम्बई इन्डियन प्रिमियर लिग आइपीएलको दोस्रो दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ । बुधबार राति भएको प्लेअफमा लखनउ सुपर जायन्ट्सलाई ८१ रनले हराउँदै मुम्बई दोस्रो क्वालिफायरमा प्रवेश गरेको हो ।

मुम्बईले दिएको १ सय ८३ रनको लक्ष्य लखनउले पूरा गर्न नसकेको हो । लखनउ १६ दशमलव ३ ओभरमा १ सय १ रनमै समेटिएको हो । लखनउका लागि मार्कस स्टोयनिसले २७ बलमा ५ चौका र १ छक्काको सहयोगमा सर्वाधिक ४० रन बनाए । सुरुआत राम्रो हुन नसकेको लखनउले ३ दशमलव २ ओभरमा २३ रन बनाउँदा २ विकेट गुमाएको थियो ।

टस जितेर पहिला ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ८२ रन बनाएको थियो । मुम्बईका लागि क्यामरन ग्रीनले २३ बलमा ६ चौका र १ छक्कासहित सर्वाधिक ४१ रन बनाएका थिए । ओपनर तथा कप्तान रोहित शर्मा १० बलमा १ चौका र १ छक्कासहित ११ रनमा आउट भए । अर्का ओपनर ईशान किशनले १२ बलमा ३ चौका सहित १५ रन प्रहार गरे ।

मुम्बईसँग पराजित भएसँगै लखनउ प्रतियोगिताबाट बाहिरिएको छ । मुम्बईले दोस्रो क्वालिफायरमा शुक्रबार गुजरात टाईटन्ससँग खेल्ने छ । यो खेलको विजेताले उपाधिको लागि पहिलो क्वालिफायरको विजेता चेन्नाईसँग फाइनलमा प्रतिस्पर्धा गर्नेछ । आईपीएल २०२३ को फाइनल खेल आगामी आइतबार अहमदाबादमा हुनेछ ।

संम्बन्धित समचार

Leave a Reply