एकैदिन १२ हजार जनाले अवलोकन गरे सदर चिडियाखाना

जेठ ११,काठमाडौँ । जावलाखेलमा रहेको राष्ट्रिय प्रकृति संरक्षण कोष सदर चिडियाखानामा आज वर्षकै सबैभन्दा धेरै अवलोकनकर्ता पुगेका छन् । आज भोटो जात्राका अवसरमा सरकारले काठमाण्डौ उपत्यकामा सार्वजनिक बिदा दिएकाले जावलाखेलमा जात्रा हेर्न आउनेहरु बिहानदेखि चिडियाखाना अवलोकन गर्न पनि पुगेका छन् । आज एकैदिन झण्डै १२ हजार जनाले चिडियाखाना भ्रमण गरेका चिडियाखानाका सूचना अधिकारी गणेश कोइरालाले जानकारी दिए ।

यो सङ्ख्या पछिल्लो एक वर्षकै धेरै हो । उनका अनुसार अघिल्ला वर्षको तुलनामा यस वर्ष भोटो जात्राका दिनमा भने कम अवलोकनकर्ता आएका छन् । यसअघिका वर्षमा यस दिन झण्डै २२ हजार जनाले चिडियाखाना भ्रमण गर्ने गरेका थिए ।

उपत्यकामा आज बिहानैदेखि वर्षा भएकाले पनि चिडियाखाना आउनेको सङ्ख्या कम भएको हुनसक्ने सूचना अधिकारी कोइरालाको भनाइ छ । चिडियाखानाले हरेक वर्ष भोटो जात्राको अवसरमा टिकटमा पनि छुटको व्यवस्था गर्ने गरेको छ ।

साविकमा टिकटको दर वयस्कका लागि दुई सय रुपैयाँ, विद्यार्थीका लागि १ सय ३५ रुपैयाँ र जेष्ठ नागरिकका लागि १ सय रुपैयाँ हुने गरेकामा आज सबैलाई ७५ रुपैयाँमा टिकट दिइएको छ ।

संम्बन्धित समचार

Leave a Reply